लुमन्ति चित्रकार
ललितपुर
मुक्तक १
फक्रीनै नपाई भुइँमा झर्छन् कयौं फूलहरू
प्रकृतिको कहरमा पर्छन् कयौं फूलहरू
बागको शोभा बढाउने रहर हुँदा हुँदै पनि,
मालीकै पैताला मुनि मर्छन् कयौं फूलहरू ।

मुक्तक २
न भन्न सहज न दबाउन मनका कथाहरू
जङ्गल भित्रै हराई जान्छन् वनका कथाहरू
यो कस्तो समाज विकसित हुँदैछ संसारमा
जहाँ द्रुततर बिक्री हुन्छन् तनका कथाहरू ।
मुक्तक ३
पुरुषबाट नारी यहाँ हेपिएको देखेनन् कसैले
नारीबाट पुरुष झनै खेदिएको देखेनन् कसैले
अति नै खराब चरित्रको नारी पनि हुँदोरहेछन्
नारीकै चरित्रले पुरुष रेटिएको देखेनन् कसैले ।
मुक्तक ४
बिश्वासको बीज छर्दै मित्रताको हात बढाउँछन्
भरोसाको जञ्जाल बिछ्याइ हरपल सघाउँछन्
छेपारो सरी रङ्ग फेर्न खप्पिस छद्मभेषीहरू
झुठ, छलकपट अनि स्वार्थको वाण चलाउँछन् ।

