रामचन्द्र भट्टराई
स्याङ्जा
मुक्तक १
कहिले दर्के झरी, कहिले चर्को घाम छ
असारको बेला यो खेतबारीमा काम छ
साहिँली माहिली पुगेछन् तल गैह्रीखेतमा
गह्राभरी काम गर्ने ती खेतालाको लाम छ ।

मुक्तक २
सबै जना रोपाइँ गर्न पाली लाउदै छन्
हर्के बिर्खे गोरु जोत्दै आली लाउदै छन्
असारे भाका गाउँदा आहा! कति रमाइलो
मुखिया बा छेउमा बसी ताली लाउदै छन् ।
मुक्तक ३
हिजोआज दिनका दिन पानी परेको छ
छङ् छङ् गर्दै पारीपाखा छहरो झरेको छ
हिउँदमा चिप्रिक्क सुक्ने त्यो खहरेले नि
यो बेलामा बाढी ल्यायी क्षति गरेको छ ।
मुक्तक ४
साँझपख झ्याउँझ्याउँ झ्याउँकिरी कराउँछ
वर्षा लाग्यो आउ जाउ, देख भेट नै हराउँछ
झरी बादल बाढी पहिरो बाटो बन्द भईदिदा
ईष्टमित्र आफन्तलाई पनि बिरानो गराउँछ ।

