
काठमाडौं । एक साताको अन्तरमा नेकपा एमाले नेतृत्वका दुई प्रदेश सरकार ढलेका छन् । सोमबार एमाले नेतृत्वको प्रदेश १ सरकार ढलेको हो । पाँच दिनअघि बागमती प्रदेश सरकार ढलेको थियो ।
प्रदेश १ सरकारको बहिर्गमनसँगै एमाले अब संघ र प्रदेशमा पूर्णरूपमा प्रतिपक्षी दल भएको छ । एमाले नेतृत्वको अन्तिम प्रदेश १ सरकारको बहिर्गमनसँगै एमाले नेतृत्वका चार प्रदेश सरकार ढलेका छन् । सर्वोच्च अदालतको परमादेशपछि एमाले नेतृत्वको संघीय सरकार ढलेको थियो । यसअघि गण्डकी, लुम्बिनी र बागमती प्रदेश सरकारको नेतृत्व गुमाइसकेको छ । यी चारवटै प्रदेशमा एमाले एक्लै बहुमतको सरकार बनेका थिए । एमाले र माओवादी मिलेर बनेको नेकपामा आएको विवादपछिको विभाजन तथा त्यसपछि एमालेको माधवकुमार नेपाल समूहले छुट्टै पार्टी गठन गरेपछि केन्द्रदेखि प्रदेशमा समेत ठूलो दलका रूपमा रहे पनि सत्ताबाट बाहिरिन बाध्य भएको हो । केन्द्रदेखि सबै प्रदेशमा एमालेले सरकार गुमाउनुका पछाडिको एक मात्रै कारण हो पार्टीभित्रै विवाद र एमाले विभाजन ।

०७४ को प्रदेश र प्रतिनिधिसभामा एकल बहुमत ल्याएको प्रदेश १ र बागमती प्रदेशमा पनि एमालेले आफ्नो सरकार जोगाउन सकेन । तत्कालीन नेकपा र पछि एमालेको विवादले एमाले संघीय सरकारदेखि सबै प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिने क्रम भने गण्डकी प्रदेशबाट सुरु भएको थियो । जेठ २७ गते पहिलोपटक एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको थियो । जेठ २७ गते गण्डकी प्रदेश सरकार, असार २९ गते संघीय सरकार, साउन २७ गते लुम्बिनी सरकार, कात्तिक १० गते बागमती सरकार र कात्तिक १५ मा प्रदेश १ सरकारबाट एमाले बाहिरिएको हो । २०७४ सालमा संघीय सरकार र चार प्रदेश सरकारको नेतृत्व गरेको एमाले पछिल्ला पाँच महिनामै दुई तहका सत्ताबाट बाहिएको हो । संघीय सरकारदेखि प्रदेश सरकारसम्म प्रतिपक्षमा धकेलिएको एमाले स्थानीय तहमा भने बलियो छ ।
अहिले संघीयसहित सातै प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार छ । जसअनुसार प्रदेश २ मा जसपा, गण्डकीमा कांग्रेस, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा माओवादी नेतृत्वको सरकार छ । त्यस्तै, बागमती र प्रदेश १ मा अब नेकपा एसको सरकार हुने भएको छ । कर्णालीमा भने पूर्व-सहमतिअनुरूप माओवादीले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने तयारी छ ।