मनसुन नेपालको कृषि, खानेपानी र प्राकृतिक जलस्रोतको प्रमुख आधार हो। तर यही मनसुन प्रत्येक वर्ष बाढी, पहिरो, डुबान र जनधनको क्षतिको कारण पनि बन्ने गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन कोशी, बागमती, गण्डकी, मधेस तथा लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तो पूर्वसूचना केवल औपचारिक सूचना होइन, समयमै जोखिम न्यूनीकरण गर्ने अवसर पनि हो।

नेपालको भौगोलिक बनोटका कारण निरन्तरको वर्षाले पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानको जोखिम बढाउँछ। खोलानाला किनार, पहिरोको जोखिमयुक्त बस्ती तथा कमजोर सडक सञ्जाल भएका क्षेत्रमा सानो लापरबाहीले पनि ठूलो मानवीय क्षति निम्त्याउन सक्छ। विगतका वर्षहरूमा पूर्वसूचना हुँदाहुँदै पर्याप्त तयारी नहुँदा धेरैले ज्यान गुमाएका र ठूलो आर्थिक क्षति व्यहोर्नुपरेका उदाहरण प्रशस्तै छन्।

यसपटक पनि मौसमविद्हरूले भारी वर्षासँगै गेगरान बहाव, बाढी, पहिरो र भूक्षयको स्पष्ट चेतावनी दिएका छन्। त्यसैले स्थानीय, प्रदेश र संघीय सरकारका सबै निकाय उच्च सतर्कतामा रहनुपर्छ। विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाउने, जोखिमयुक्त बस्तीमा निगरानी बढाउने, उद्धार सामग्री र जनशक्ति तयारी अवस्थामा राख्ने तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने काममा ढिलाइ हुनु हुँदैन।

सर्वसाधारणले पनि मौसम चेतावनीलाई हल्का रूपमा लिनु हुँदैन। नदी तथा खोलाको किनारमा अनावश्यक आवतजावत नगर्ने, पहिरोको जोखिम भएका सडकमा यात्रा गर्दा सावधानी अपनाउने, रातिको समयमा जोखिमपूर्ण यात्रा सकेसम्म टार्ने तथा स्थानीय प्रशासन र मौसम विभागबाट जारी सूचनाको नियमित पालना गर्ने बानी बसाल्न आवश्यक छ।

जलवायु परिवर्तनका कारण नेपालमा वर्षाको स्वरूप अझ अनिश्चित र तीव्र बन्दै गएको छ। छोटो अवधिमा अत्यधिक वर्षा हुने प्रवृत्तिले विपद्को जोखिम बढाएको छ। त्यसैले दीर्घकालीन रूपमा सुरक्षित बस्ती विकास, नदी व्यवस्थापन, पहिरो नियन्त्रण, पूर्वसूचना प्रणालीको विस्तार र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनैपर्छ।

प्राकृतिक वर्षा रोक्न सकिँदैन, तर त्यसबाट हुने क्षति अवश्य घटाउन सकिन्छ। त्यसका लागि समयमै सूचना, प्रभावकारी तयारी र नागरिकको सचेत सहभागिता नै सबैभन्दा बलियो सुरक्षा कवच हो। मनसुनलाई विपत्ति होइन, व्यवस्थापनको चुनौतीका रूपमा लिएर सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्ने बेला यही हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय