दमौली । व्यास नगरपालिकाले आगामी विकास योजनामा पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार नगरभित्रका सडकलाई वर्षभरि सञ्चालनयोग्य बनाउने लक्ष्यसहित आवश्यक सडकको लगत कट्टा गरी योजनाबद्ध रूपमा स्तरोन्नति गरिनेछ। दीर्घकालीन, आवधिक तथा एकीकृत सहरी विकास योजनाअनुसार सन्तुलित विकासको अवधारणालाई कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो।

दमौलीसहितका सहरी क्षेत्रमा वर्षायाममा हुने डुबान र ढल निकासको समस्या समाधानका लागि फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गरिने नगरपालिकाको योजना छ।

नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सहरी वडामा स्मार्ट सडक बत्ती जडान गरिने तथा ग्रामीण वडाका सबै गाउँमा विद्युतीकरण विस्तार गरिनेछ। यससँगै ‘उज्यालो नगरपालिका’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने भएको छ।

कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले व्यास–१० दुम्सीचौरस्थित निर्माणाधीन नारेश्वर तालबाट पानी लिफ्ट गरी दुम्सीचौर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले विकास आयोजना छनोटमा सहभागितामूलक योजना तर्जुमा प्रक्रियालाई निरन्तरता दिने जनाएको छ। वडा, बस्ती तथा टोल विकास संस्थाको परामर्शका आधारमा आयोजना छनोट गरिने नीति लिइएको छ।

त्यसैगरी, आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत सञ्चालन हुने १० लाख रुपैयाँभन्दा कम लागतका योजनामा तीन प्रतिशत मात्रै कन्टिन्जेन्सी कट्टा गरिने व्यवस्था लागू गरिनेछ। नगरप्रमुख न्यौपानेका अनुसार यसले साना विकास आयोजनाको प्रभावकारिता बढाउनुका साथै मर्मतसम्भारका लागि स्रोत सुनिश्चित गर्न सहयोग पुग्नेछ।

सहरी क्षेत्रका चोक, सडकपेटी तथा जीर्ण सडकको स्तरोन्नतिका लागि सडक बोर्ड नेपालसँग सहकार्य गरिनेछ भने नगरभित्रका सबै सडकको वर्गीकरण गरी सडक किनारमा वृक्षरोपण अभियान सञ्चालन गरिने नीति पनि अघि सारिएको छ।

नगरप्रमुख न्यौपानेले सेती र मादी नदी उपत्यकालाई जोड्ने व्यास–बुद्धसिं मार्गलाई क्षेत्रीय विकासको ‘जीवनरेखा’का रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। तनहुँ, लमजुङ र कास्की हुँदै गण्डकी तथा बागमती प्रदेश जोड्ने उक्त सडकको निर्माण तथा विस्तारलाई पूर्णता दिन सङ्घीय सरकारसँग आवश्यक पहल गरिने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय