काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्णायक मोडमा पुगेको छ। गत असार २२ गतेदेखि काठमाडौंको चुनदेवीमा ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’ सञ्चालनमा ल्याएसँगै संस्थापन इतर पक्षले छुट्टै राजनीतिक तयारीलाई तीव्र बनाएको भए पनि अन्तिम निर्णय भने स्थगित गर्दै सहमतिको प्रयास जारी राखेको छ।

पार्टी स्रोतका अनुसार सभापति गगन थापा र इतर पक्षका नेता पूर्णबहादुर खड्का बीच पछिल्ला दिनमा पटक–पटक गोप्य भेटवार्ता भएको छ। विभाजन टार्न सकिने निष्कर्षमा पुगेका दुवै नेताले साझा सहमतिका आधार खोजिरहेका छन्। खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई समायोजन गर्नुपर्ने मुख्य माग राखेका छन् भने सभापति थापाले विधानका कारण त्यो सम्भव नभए पनि ३०–३५ जनासम्मलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ।

सिटौला–निधि विभाजन पक्षमा, अन्य नेता लचिलो

इतर पक्षको नेतृत्व तहमा भने विभाजनबारे एउटै धारणा देखिएको छैन। नेता कृष्ण सिटौला र विमलेन्द्र निधि छुट्टै पार्टी गठनको पक्षमा दृढ देखिएका छन्। तर पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. प्रकाशरण महत भने सहमतिबाटै समाधान खोज्नुपर्ने पक्षमा रहेको बताइएको छ। यही कारण तत्काल राष्ट्रिय भेला नबोलाई संवादलाई निरन्तरता दिइएको स्रोतको भनाइ छ।

चुनदेवी कार्यालयमा बढ्दो गतिविधि

चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता–कार्यकर्ताको चहलपहल बढ्दै गएको छ। नयाँ पार्टी गठनको मिति कहिले घोषणा हुन्छ भन्ने जिज्ञासा कार्यकर्तामाझ बढ्दो छ। इतर पक्षका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले नयाँ पार्टी गठनको तयारी लगभग पूरा भइसकेको दाबी गर्दै औपचारिक दर्ता मात्रै बाँकी रहेको बताएका छन्।

६ साउनसम्म सहमतिको प्रयास

इतर पक्षले ६ साउनमा बिपी जयन्तीका अवसरमा काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्दै आफ्नो राजनीतिक धार स्पष्ट पार्ने तयारी गरेको छ। सोही कार्यक्रममा राष्ट्रिय भेला बोलाउने मिति सार्वजनिक हुने सम्भावना छ।

नेता विमलेन्द्र निधि ले साउनको दोस्रो वा तेस्रो साताभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी रहेको जानकारी दिँदै संस्थापन पक्षबाट वार्ताका लागि अपेक्षित पहल नभएको आरोप लगाए। उनका अनुसार सहमति नभए नयाँ राजनीतिक बाटो रोज्ने विकल्प खुला रहनेछ।

कांग्रेसभित्र सहमतिको अन्तिम प्रयास जारी रहे पनि दुवै पक्षबीच मतभेद कायमै रहेकाले आगामी केही साताभित्र पार्टीको भावी दिशा तय हुने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय