काठमाडौं । बजारलाई स्वच्छ र उपभोक्तामैत्री बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई कडा बनाएको छ। आइतबार गरिएको स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि विभागले चार ठूला मार्टलाई कारबाही प्रक्रियामा ल्याएको छ।
विभागले मेट्रो मार्केट प्रालि (इमाडोल), सेलवेज क्यास एण्ड क्यारी प्रालि (महाराजगञ्ज), मेगा मार्ट प्रालि (विशालनगर) र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि (चक्रपथ) लाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

यसैगरी मुना कृषि लिमिटेडलाई पनि उस्तै निर्देशन दिइएको विभागले जनाएको छ। अनुगमनका क्रममा थप १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ।
उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको उपस्थितिमा गरिएको अनुगमनले कालाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक र उपभोक्ता हित संरक्षणमा जोड दिएको विभागले जनाएको छ।

