काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा दुई हजार १ सय ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १० लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८१ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १५९ जना तथा तीव्र गतिमा सवारी चलाउने २०२ जना रहेका छन्।
यस्तै, लेन अनुशासन पालना नगर्ने ९२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११० जना, सडक तथा फुटपाथमा अवैध पार्किङ गर्ने ११० जना, एकतर्फी सडकमा सवारी चलाउने ६६ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ५५ जना पनि कारबाहीमा परेका प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी नियमको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइरहेको भन्दै सबै सवारीचालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।

