काठमाडौ । काठमाडौंको सिनामंगलमा भएको घटनाले फेरि एकपटक घरेलु हिंसाको भयावह रूपलाई निर्वस्त्र पारेको छ । प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीद्वारा आफ्नै नाबालक छोराको हत्या र श्रीमतीमाथिको घातक आक्रमणले परिवारिक दुःखान्तमात्र होइन सुरक्षा संयन्त्रभित्रै चरम मानसिक असन्तुलन, तनाव र जिम्मेवारीहीनताको आँकुसी चित्र पनि हो ।

केही महिनाअघि जन्मेको र जन्मजातै ‘ब्रेन ट्युमर’बाट पीडित बालकको उपचारबारे पति–पत्नीबीच निरन्तर विवाद हुँदै आएको तथ्यले यो घटना कुनै क्षणिक झगडाको परिणाम मात्र नभएको देखाउँछ । श्रीमती कृष्णा कुँवर उपचारका लागि ऋण लिएर भए पनि प्रयास गर्न चाहन्थिन्, तर कार्की निरन्तर उपचारबाट पन्छिँदै आएका रहेछन् । यही विवाद आइतबार पुनः चर्किँदा उनले आत्महत्या गर्ने सोचदेखि छोराको हत्या र श्रीमतीमाथि प्रहारसम्म पुगेको प्रारम्भिक बयानले एक प्रहरी अधिकृत मानसिक संकटका गहिरा तहमा गइसकेको संकेत गर्छ ।
उनीहरू विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारी हुन् । जसले जनताको सुरक्षा हेर्ने, तनावप्रति संयम देखाउने र आपत्कालीन अवस्थामा शान्त माथि शान्त रहने अपेक्षा गरिन्छ, त्यही व्यक्तिबाट घरभित्र यस्तो जघन्य हिंसा हुनु संस्थागत मनोवैज्ञानिक समर्थन प्रणाली कत्तिको कमजोर छ भन्ने प्रश्नलाई केन्द्रमा ल्याउँछ ।

नेपाल प्रहरीमा ड्युटीको दबाब, पारिवारिक जिम्मेवारी, रात–दिनको अनियमित तालिका र आर्थिक–सामाजिक तनाव कुनै रहस्य होइन । तर यस्ता संवेदनशील परिस्थितिलाई सम्बोधन गर्ने मनोसामाजिक परामर्श, न्यूनतम मानसिक स्वास्थ्य सेवा वा पारिवारिक तनाव व्यवस्थापन संयन्त्र अझै पनि व्यवस्थित छैन । फल स्वरुप प्रहरी भित्रैबाट अपराधमय विस्फोट भयो ।

श्रीमती कुँवर अहिले टाउकोमा टाँका लागेका घाउ सहित अस्पतालमा उपचाररत छिन् । उनलाई लागेको शारीरिक चोटभन्दा धेरै गहिरो पीडा आफ्नै आँखा अगाडि ४ महिनाको छोरालाई गुमाउनुमा छ । दबिएको मानसिक तनाव, पारिवारिक मतभेद र उपचार नपाएको आक्रोश अन्ततः विनाशको रूपमा विस्फोटिन्छ । घरेलु हिंसा कुनै घरभित्रकै गोप्य द्वन्द्व होइन, यो समाज, संस्थान र राज्यका संरचनासँग जोडिएको गम्भीर सामाजिक रोग हो। विशेष गरेर सुरक्षाकर्मी जस्तो उच्च दबाबका पेशामा कार्यरत व्यक्तिहरूलाई मनोवैज्ञानिक मद्दत, काउन्सिलिङ र पारिवारिक सहजीकरण कार्यक्रम अनिवार्य रूपमा स्थापित गर्ने समय भइसकेको छ ।

नाबालक बालकको ज्यान गयो, एउटा परिवार उजाडियो, एक प्रहरी अधिकारी अपराधीको रूपमा अदालतका ढोकामा पुगे तर समाजका लागि प्रश्न भने त्यही छ ः हामी कति घटनापछि चेतिन्छौँ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय