पोखरा। पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका ३२५ परिवार भूमिहीनको अन्तिम सूचीमा परेका छन्। महानगरका अनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी छन्। यस्तै, २४२ परिवारलाई अव्यवस्थित बसोबासीका रूपमा कायम गरिएको छ।
दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले अन्तिम विवरण तयार गरी वडा समितिसमक्ष सिफारिस गरेको हो। वडा समितिले प्रतिवेदन महानगरपालिकामा पठाउने निर्णय गरेको छ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार अब कार्यपालिकाबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाइनेछ। प्रक्रिया समयमै अघि बढेमा अर्को सातादेखि बसपार्क क्षेत्रको बस्ती व्यवस्थापन तथा स्थानान्तरण सुरु गर्ने तयारी छ।
बसोबासीले भने वास्तविक सुकुमबासीको निष्पक्ष पहिचान गरी वैकल्पिक व्यवस्थापन गरेपछि मात्रै बस्ती हटाउनुपर्ने माग गरेका छन्। सुविधासम्पन्न बसपार्क निर्माणका लागि २०३२ सालमा जग्गा अधिग्रहण गरिए पनि पाँच दशकसम्म बसपार्क निर्माण हुन सकेको छैन।

