झापा । राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले पूर्वी नाका काँकडभिट्टासहित विभिन्न भन्सार नाकामा कडाई गर्न थालेको छ। सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा तथा अन्य घरायसी सामान खरिदका लागि भारतीय बजारतर्फ जाने प्रवृत्ति बढेसँगै स्थानीय बजार प्रभावित हुनुका साथै राज्यले राजस्व गुमाउँदै आएको गुनासोपछि यस्तो कदम चालिएको हो।
सशस्त्र प्रहरी बलले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवललगायत नाकामा निगरानी बढाउँदै रु एक सयभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा अनिवार्य रूपमा भन्सार महसुल बुझाउन आग्रह गरिरहेको छ। महसुल नबुझाएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार सीमा क्षेत्रमा राजस्व चुहावट रोक्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ। यस अभियानमार्फत सर्वसाधारणलाई कानुनी प्रावधानबारे जानकारी गराउँदै स्वेच्छाले महसुल तिर्न प्रोत्साहित गरिँदैछ।
सीमानाकाबाट हुने अवैध आयात नियन्त्रण गर्न सशस्त्र प्रहरीले झापाजस्तै देशभरका अन्य नाकामा पनि निगरानी कडा बनाएको जनाएको छ। यसबाट राजस्व संकलनमा सुधार आउने र स्थानीय बजार चलायमान हुने अपेक्षा गरिएको छ।

