उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारस्थित पुष्पलाल चोकमा गएराति भएको भीषण आगलागीमा परी दुई जनाको जलेर मृत्यु भएको छ। आगलागीबाट दुई घर पूर्ण रूपमा नष्ट भएका छन् भने घटनास्थलबाट जलेको अवस्थामा दुई जनाको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर प्रभाप लिम्बूका अनुसार घटनास्थलबाट दुई जनाको जलेको कंकाल फेला परेको हो। मृतकको पहिचान खुल्ने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। आगलागीका कारण स्थानीय लक्ष्मी खड्का र रविनकुमार दासको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेश अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय