काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हिमालयन रि इन्स्योरेन्स लिमिटेड र यससँग सम्बद्ध संस्थाबाट ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको आशंकामा विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको पाइएको छ। यस प्रकरणमा उद्योगी शेखर गोल्छा सहित संस्थापकदेखि हालसम्मका सञ्चालकहरूमाथि छानबिन आवश्यक रहेको निष्कर्ष सेबोनको प्रतिवेदनले निकालेको छ।
सेबोनले तयार पारेको प्रतिवेदन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मा पठाइसकेको उच्च अधिकारीहरूले बताएका छन्। प्रतिवेदनअनुसार बिचौलिया व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल मात्र नभई हिमालयन रिका सञ्चालक, सेयरधनी र कर्मचारीसमेत अनुसन्धानको दायरामा परेका छन्।

यसैबीच सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले प्रतिवेदनपछि राजीनामा दिएका छन्। उता हिमालयन रिका पूर्वअध्यक्ष गोल्छाले पनि यसअघि नै पद त्याग गरिसकेका छन्। विभागले सेयर खरिदमार्फत गैरकानुनी सम्पत्तिलाई वैध बनाएको आशंकामा अनुसन्धान अघि बढाएपछि नेतृत्व तहमा हलचल देखिएको हो।
हाल उक्त मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। साथै साहिल अग्रवाल, अमित मोर, साक्षी वंशल (गुप्ता), सुभाषकुमार झुनझुनवाला, रोहित गुप्तालगायतमाथि सेयर कर्नरिङदेखि सम्पत्ति शुद्धीकरणसम्मको अभियोगमा अनुसन्धान जारी रहेको जनाइएको छ।
धितोपत्रसम्बन्धी कानुनअनुसार यस्ता प्रकृतिका वित्तीय अनियमिततामा सेबोनले प्रारम्भिक अध्ययन गरी आवश्यक परे सम्बन्धित निकायलाई कारबाही सिफारिस गर्ने व्यवस्था छ। सोहीअनुसार नेपाल प्रहरीले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई जिम्मेवारी दिइसकेको छ।
यसैबीच नेपाल बिमा प्राधिकरण ले पनि छुट्टै अनुसन्धान सुरु गरेको छ। प्राधिकरणले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, डेपुटी सिइओ मुकेशकुमार कपुर तथा अन्य उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको छ।
यसअघि विभागले २८ फागुन २०८२ मा प्राधिकरणलाई पत्राचार गर्दै दीपक भट्टका लागि विभिन्न कम्पनीको सेयर खरिदमा प्रयोग भएको ३ अर्ब ८१ करोड रुपैयाँको स्रोतबारे छानबिन गर्न निर्देशन दिएको थियो। प्रतिवेदनअनुसार हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख, साथै अन्य कम्पनीमार्फत रकम खर्च भएको देखिएको छ।
प्राधिकरणले माग गरेको स्पष्टीकरणको जवाफ आएपछि थप कारबाहीको प्रक्रिया अघि बढाइने जनाएको छ।

