झापा । लामो समयदेखि घट्दै आएको अलैँचीको मूल्यमा पछिल्लो समय सुधार आएको छ। गत वर्ष प्रतिमन २४ हजार रुपैयाँसम्म कारोबार भएको अलैँची यसपटक भने झण्डै दोब्बर मूल्यमा कारोबार भइरहेको अलैँची व्यवसायी महासंघले जनाएको छ।

कुनै बेला प्रतिमन एक लाख २० हजारसम्ममा अलैँची कारोबार भएको थियो। त्यही समयमा ‘कालो सुन’ उपनाम पाएको अलैँचीको मूल्य निरन्तर घटेर २२ हजार रुपैयाँसम्म आएको थियो। तर, यसवर्ष क्रमशः अलैँचीको मूल्य बढिरहेको अलैँची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए।

बिहीबार झापाको बिर्तामोडमा चलनचल्तीको अलैँची प्रतिमन ४४ हजार रुपैयाँ र राम्रो दाना भएको अलैँची ४६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको महासंघका अध्यक्ष कार्कीले जानकारी दिए।

केही हप्ताअघि चलनचल्तीको प्रतिमन ४६ हजार रुपैयाँ र राम्रो दाना भएको अलैँची ४८ हजार रुपैयाँसम्म बिक्री भएको महासंघका अध्यक्ष कार्कीले बताए्। ‘अहिलेसम्म त निरन्तर मूल्य बढिरहेको छ। अहिले केही घटेको हो,’ उनले भने, ‘तर, निरास हुनुपर्ने ठाउँ छैन। अलैँची तिहारले गर्दा केही घटेको हो। यस पटक ५० हजार रुपैयाँभन्दा बढी मूल्य हुन्छ भन्ने आस गरेका छौँ।’

कालो सुन अलैँचीको मूल्य निरन्तर खस्कनुको पछि नेपाली अलैँचीमा भारतीय बजारको एकाधिकार पनि हो। ९० प्रतिशत नेपाली अलैँची भारत जाने गरेको छ। महँगो भन्सार शुल्कका कारण नेपाली अलैँची बंगलादेश जान सक्दैन। जसका कारण नेपाली अलैँचीको मूल्य निरन्तर खस्कँदै आएको छ।

यसवर्ष भने भारत र नेपालमा नै अलैँचीको उत्पादन घटेका कारण अलैँचीको मूल्य बढेको अध्यक्ष कार्कीले बताए।

यसपटक नेपालमा गत सालको तुलनामा ४० प्रतिशत अलैँचीको उत्पादनमा कमि आएको उनको भनाइ छ। गत वर्ष नेपालमा करिब ६० लाख केजी अलैँची उत्पादन भएको महासंघले जनाएको छ।

‘अलैँचीलाई चाहिने समयमा पानी परेन। खडेरीले अलैँची फल्न पाएन। गानोमा किरा लागेर पनि उत्पादनमा गिरावट आयो,’ अध्यक्ष कार्कीले भने, ‘सरकारले अलैँची खेतीमा सिँचाइको व्यवस्था नगर्ने भए अलैँचीको उत्पादन अझै घट्दै जान्छ।’

यसवर्ष अलैँचीको उत्पादन घटे पनि मूल्य बढ्दा कृषकले केही राहत महसुस गरेका छन्।

नेपालको ४३ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ। जसमध्ये सबैभन्दा धेरै पूर्वीपहाडी जिल्लामा अलैँची उत्पादन हुन्छ। अलैँचीको राजधानी झापाको बिर्तामोड हो। यसवर्षको अलैँची किसानले बगानबाट निकाली सकेका छन्। बिर्तामोडमा अलैँची जम्मा हुने क्रममा रहेको अध्यक्ष कार्कीले बताए।

नेपालको अधिकांश अलैँची पूर्वीनाका काँकडभिट्टा भएर निर्यात हुँदै आएको छ। नेपालबाट पूर्वीनाका काँकडभिट्टा भएर निर्यात हुने कृषि जन्य उत्पादनको ५० प्रतिशत हिस्सा अलैँचीले ओगट्दै आएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय