काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन सुरु गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यादवलाई जिम्मेवारीबाट हटाएर प्रदेश कार्यालयमा हाजिर गराउँदै छानबिन प्रक्रिया अघि बढाएको हो। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भर्ना गरिएका तीन जना निर्वाचन प्रहरीसँग सम्बन्धित विवादपछि उनीमाथि अनुसन्धान सुरु गरिएको जनाइएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार घटनाको छानबिनका लागि एसपी पुष्प मल्लको नेतृत्वमा समिति गठन गरिएको छ। छानबिन नसकुन्जेल डीएसपी यादवलाई रुकुम पूर्वबाट प्रदेश प्रहरी कार्यालयमा तानिएको छ।
निर्वाचनका बेला प्रहरीमा भर्ना गरिएका ती तीन जनालाई तालिम नदिएको र ड्युटीमा समेत नखटाइएको भन्दै विवाद उत्पन्न भएको थियो। उनीहरूलाई रुकुम पूर्वमा भर्ना गर्न बाराबाट बोलाइएको बताइएको छ। तालिम र परिचालन बिना सेवा–सुविधा दिएको भन्दै सम्बन्धित व्यक्तिहरूले विरोध जनाएपछि घटना सार्वजनिक भएको हो।
यादवले आफन्त नाता पर्ने व्यक्तिहरूलाई निर्वाचन प्रहरीमा भर्ना गराएको आरोप पनि लागेको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको जिम्मेवारी हाल डीएसपी केशव ज्ञवालीलाई दिइएको छ। ज्ञवाली यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।

