सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली सुर्खेत पुगेको छ। प्रहरी निरीक्षकको नेतृत्वमा सिआइबीको विज्ञ टोली वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान सम्पन्न गरेपछि घटनामा प्राप्त प्रमाणहरूको वैज्ञानिक तथा प्राविधिक विश्लेषणका लागि सिआइबीको सहयोग लिइएको हो। पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको र मोबाइल फोनलगायत प्रमाण केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षण भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका रिपोर्ट आएपछि घटनाको वास्तविकता स्पष्ट हुने अपेक्षा गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट पोलिग्राफ टोलीसमेत सुर्खेत पुगेको छ।

यसैबीच, इनिशाको शव आफन्तले नबुझेका कारण एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीलाई कडा कारबाही हुने सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ। पोस्टमार्टम रिपोर्टअनुसार अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इनिशाको न्यायको माग गर्दै वीरेन्द्रनगरसहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् भने सामाजिक सञ्जालमा पनि निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग उठिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय