
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूले फेरि दल नफुट्ने गरी एकताबद्ध बनाएर अघि बढ्न एकता महाधिवेशन आयोजना गरिएकाे भन्दै जोड दिएका छन्।
काठमाडौंमा बुधबार पार्टी महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले दलको यो अन्तिम एकता महाधिवेशन हुने बताउँदै यसका लागि तीनै जना अध्यक्षले पार्टी फुट्न नदिने सङ्कल्प गरेको बताए।

पार्टी नटुक्र्याउन तीनै जना अध्यक्षले गीता छोएर कसम खाएको अध्यक्ष थापाले महाधिवेशन उद्घाटन समारोहमा स्मरण गरे। “नेपाली पहिचानको रक्षा हुने प्रजातन्त्रको आवश्यकता छ, प्रजातान्त्रिक मूल्यमान्यता कमजोर हुँदै गएको छ, सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको आवश्यकता छ, विदेशीको हस्तक्षेप बढ्दै गएको छ, राज्यका अङ्ग कमजोर हुँदै गएका छन्, धर्म निरपेक्षताका नाममा सनातन धर्म, संस्कृतिमाथि आक्रमण भएको छ”, अध्यक्ष थापाले भने।
अर्का अध्यक्ष पशुपति शम्शेर जबराले दललाई एकताबद्ध बनाइराख्न आफू अध्यक्षको उम्मेदवार नहुने निर्णयमा पुगेको दाबी गरे। राणाले भने, “मैले जितेपछि पार्टी फुट्यो भने तीतो अनुभव हुन्छ, यसैले अध्यक्ष पदमा उम्मेदवार बन्दिनँ, अध्यक्ष दाबेदार मित्र कमल थापा र राजेन्द्र लिङ्देनलाई पनि सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित गरेर एकताको सन्देश दिन आह्वान गर्छु, सम्भव भएन भने प्रजातान्त्रिक प्रक्रियाबाट आउने परिणामलाई सबैले मान्नुपर्छ।”
पार्टीका अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले दलमा एकता महाधिवेशनले फुटको अन्त्य भई एकताबद्ध भएर अघि जाने वातावरण बन्नेमा आफू विश्वस्त रहेको बताए।
“नेपाललाई एकताको सूत्रमा बाँध्न पृथ्वीनारायण शाहका दिव्योपदेशको बाटो अर्थात पृथ्वीपथ चाहिन्छ, पृथ्वीनारायण शाहले धर्मप्रचारका माध्यमबाट नेपालमा अनेकता ल्याउन खोज्ने पोर्चुगिज पादरीलाई फिर्ता गर्नुभएको थियो, विभिन्न नाममा आउने विदेशीले नेपालमा अनेकता फैल्याउन काम गरेका छन्”, लोहनीले भने।
पार्टीका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अन्यायले न्यायलाई छोप्ने प्रवृत्ति बढ्दै जाँदा जनता असन्तुष्ट भएकाले न्यायपूर्ण समाज निर्माण गर्ने गरी राप्रपाले प्रस्ताव पारित गर्न सुझाव दिए।
राप्रपाका तर्फबाट निर्वाचित एक मात्र सांसद राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा जनता हुँदा पनि पार्टी राष्ट्रिय दल बन्न नसक्नुमा नेतृत्वको कमजोरी रहेको बताए।
तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्षमा कमल थापा र महामन्त्री राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन्।