लुम्बिनी । विश्व शान्तिको मुहान मानिने लुम्बिनीमा विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको निःशुल्क बुद्ध शिक्षा तथा पुस्तक वितरण अभियान संकटमा परेको छ। लुम्बिनी विकास कोषका वर्तमान पदाधिकारीहरूको असहयोग र उदासीनताका कारण ‘सिम्बोलिक पेभेलियन’मा सञ्चालित सेवा बन्द हुने अवस्थामा पुगेको बौद्ध भिक्षु सुमंगलोले बताएका छन् ।

सारीपुत्र फाउन्डेसनमार्फत् शान्तिद्वीप नजिकै रहेको सिम्बोलिक पेभेलियनको भुइँ तलामा भिक्षु सुमंगलोले लामो समयदेखि निःशुल्क धम्म सेवा तथा पुस्तकालय सञ्चालन गर्दै आएका छन्। यहाँ दैनिक आउने सयौँ पर्यटक र श्रद्धालुलाई बुद्धका जीवनी र शिक्षासम्बन्धी नेपाली, अंग्रेजी र चिनियाँ भाषामा अनुवाद गरिएका पुस्तक निःशुल्क वितरण गरिँदै आएको छ।

भिक्षु सुमंगलोका अनुसार व्यक्तिगत तथा दाताको सहयोगबाट वार्षिक १५ देखि २० लाख रुपैयाँ जुटाएर यो अभियान सञ्चालन भइरहेको छ। “यो व्यापारिक केन्द्र होइन, बुद्धको सन्देश फैलाउने थलो हो,” उनले भने, “तर कोषमा आउने नयाँ पदाधिकारीहरूले पटक–पटक यो परियोजना हटाउन खोजेका छन्।”

उनले परियोजना लुम्बिनी विकास कोषलाई नै हस्तान्तरण गर्न आफू तयार रहेको तर यसको निरन्तरता सुनिश्चित हुनुपर्ने माग राख्दै आएका छन्। हालै सदस्यसचिव दीपक श्रेष्ठलगायत पदाधिकारीसँग छलफल भए पनि कुनै ठोस सहमति हुन सकेको छैन।

भिक्षु सुमंगलोका अनुसार लुम्बिनी विकास कोषको विधानमै बुद्ध शिक्षाको प्रचार–प्रसार गर्ने व्यवस्था रहे पनि दाताको सहयोगबाट सञ्चालित सेवामाथि अवरोध सिर्जना गर्नु विडम्बनापूर्ण हो। उनले पुस्तक वितरणको काम कोष आफैँले सञ्चालन गरे पनि आफू आर्थिक सहयोग गर्न तयार रहेको बताए।

२०७८ फागुन २० गतेको निर्णयअनुसार सारीपुत्र फाउन्डेसनलाई आवश्यक परे तत्काल खाली गर्ने सर्तमा उक्त स्थान प्रयोग गर्न दिइएको थियो। तर अहिले सेवा हटाउने प्रयासले स्थानीय धम्म अनुरागी र बौद्ध समुदायमा चिन्ता बढाएको छ। स्थानीय बौद्ध भन्ते पूर्णका अनुसार बुद्ध जन्मस्थलमै बुद्ध शिक्षा बाँड्ने अभियानमाथिको हस्तक्षेपले लुम्बिनीको गरिमामाथि नै प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय