काठमाडौँ । काठमाडौँ महानगरपालिका ले असन क्षेत्रको मौलिकता संरक्षण गर्दै सामाजिक, सांस्कृतिक तथा व्यापारिक गतिविधि प्रवर्द्धन गर्न ‘भेहिकल फ्री असन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। वैशाख ५ गतेदेखि हरेक शनिबार असन क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिने निर्णय गरिएको हो।
यसअघि चैत २८ गतेदेखि कार्यक्रम सुरु गर्ने तयारी भए पनि तयारीमा कमजोरी नहोस् भन्ने उद्देश्यले एक साता पछाडि सारिएको हो। कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल को अध्यक्षतामा बसेको बैठकले कार्यक्रम प्रभावकारी बनाउन थप समय आवश्यक देखिएको निष्कर्ष निकालेको थियो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गीलगायत सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यवाहक प्रमुख डङ्गोलले असनको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई जोगाउनु सबैको दायित्व भएको बताइन्। “असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका सामाजिक तथा धार्मिक कार्यसँग जोडिएको स्थान हो,” उनले भनिन्, “स्थानीय सहभागितामा कार्यक्रम सुरु गरेर यसलाई दीगो बनाउनु आवश्यक छ।”
कार्यक्रमअन्तर्गत कमलाक्षी चोक, भोटाहिटी चोक र महाबौद्ध क्षेत्रबाट असन प्रवेश गर्ने सवारीसाधनमा प्रतिबन्ध लगाइनेछ। वैकल्पिक मार्गको व्यवस्था गरिने जनाइएको छ।
महानगरले उक्त क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरी परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। कार्यक्रमको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगर प्रहरी बललाई दिइने तयारी गरिएको छ।
वडाध्यक्ष योगेश खड्गीका अनुसार स्थानीय समुदाय, संघसंस्था र क्लबको सहकार्यमा कार्यक्रम अघि बढाइएको हो। यसले असन बजारको मौलिकता जोगाउनुका साथै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यका प्रहरी कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय ले समेत समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

