कास्की । घान्द्रुक गाउँमा यतिबेला पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने यस रमणीय गाउँमा दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको हो।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार सप्ताहन्तमा दैनिक एक हजारदेखि एक हजार २०० सम्म पर्यटक यहाँ पुग्ने गरेका छन्। “अन्य दिनमा पनि छ–सात सय पर्यटक भित्रिरहेका छन्,” उनले भने, “सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि पर्यटकीय गतिविधि अझै बढ्ने अपेक्षा छ।”

‘सबै मौसममा पर्यटन’ भन्ने मूलमन्त्रसहित स्थानीय व्यवसायीले घान्द्रुकको प्रवर्द्धन गर्दै आएका छन्। संस्कृति र प्रकृतिको उत्कृष्ट संगमस्थल मानिने घान्द्रुक अन्नपूर्ण चक्रीय पदमार्ग को प्रमुख आकर्षक गन्तव्य हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायका अनुसार घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रमा घुम्न आउनेमध्ये भारतीय पर्यटकको संख्या उल्लेख्य छ। उनका अनुसार एकैदिनमा ८५६ जनासम्म विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका छन्।
पछिल्लो समय भारतीय पर्यटकसँगै आन्तरिक पर्यटन पनि फस्टाउँदै गएको छ। सहज पदमार्ग, आकर्षक गन्तव्य र व्यवस्थित पूर्वाधारका कारण यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो। साथै सडक पहुँच विस्तार भएपछि घान्द्रुकमा आन्तरिक पर्यटकको आगमन थप बढेको छ।
अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको मौलिकता जोगाउँदै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। तीव्र रूपमा बढ्दो कङ्क्रिट संरचनाले गाउँको परम्परागत स्वरूपमा असर पारिरहेको भन्दै उनले परम्परागत सामग्री र शिल्प प्रयोग गरेर घर निर्माण गर्नेलाई अनुदान दिने नीति ल्याउन लागिएको जानकारी दिए।

