लेखक:
विष्णुकुमार प्रसाईं
बरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक

पश्चिमाले उचालेर हो हाम्रो Generation Z जागेको भन्ने कथा सुन्न कति सजिलो छ, हैन? दोष र जस अमेरिका–युरोपतिर थोपरेपछि आन्तरिक हिसाबकिताब मिलाउन खासै मेहनत चाहिँदैन। आत्मालोचना गर्नुपर्दैन, असहज प्रश्नहरूबाट उम्कन पाइन्छ। तर यथार्थको भित्री पाना पल्टाउँदा चित्र भने निकै असजिलो देखिन्छ। हामीले आफ्नै घरको आँगनमा उभिएको छायालाई पूरै बेवास्ता गरेर टाढाबाट परेको परछाईंमाथि मात्र चिच्याइरहेका छौं।

सोचौं त—साझा भाषा, संस्कृति र भावनात्मक नाताको नाममा छिमेकी भारतको प्रभाव हाम्रो चेतनामा कति गहिरो गरी बसिसकेको छ? हाम्रो पुस्ता फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत् पश्चिमसँग जोडिएको होला। तर बिहान आँखा खुल्नेबित्तिकै कानमा गुन्जने आवाज कुन हो? हिन्दी गीत। दिनभरि दिमाग रंग्याउने समाचार कुन हो? हिन्दी च्यानल। बेलुकी परिवारलाई एउटै टेलिभिजनअगाडि बाँधेर राख्ने कथा कुन हो? भारतीय धारावाहिक।
यसको परिणाम के भयो? हाम्रो सोच, आक्रोश, राजनीतिक भाषा र ‘रिबेल’ हुने शैलीसम्म भारतीय आख्यानले आकार लिन थाल्यो।

हामी गर्वका साथ भन्छौं—“नेपाल कहिल्यै विदेशी उपनिवेश बनेन।” यो वाक्य साँचो छ, तर अधुरो छ। हामी भौतिक रूपमा उपनिवेश भएनौं, तर के मानसिक र सांस्कृतिक रूपमा स्वतन्त्र नै रह्यौं? अंग्रेज बन्दुक लिएर आएनन्, तर बलिउड गीत र कथासहित आयो। नियन्त्रण सेनाले गरेन, मनोरञ्जन उद्योगले गर्‍यो।
यो नरम शक्ति (soft power) को विजय हो—नदीले बगाएर हैन, भूगर्भबाटै सिञ्चन गरेर गरिएको कब्जा। खुला सीमाना नक्सामा मात्र रहेन, हाम्रो मस्तिष्कसम्म खुला रह्यो।

जब नेपाली युवाले सडकमा परिवर्तनको नारा लगाए, धेरैले तुरुन्तै ठोकुवा गरे—यो त पश्चिमी ‘वोक’ सोचको नक्कल हो। तर ती नारा कुन भाषामा थिए? अंग्रेजीमा? होइन। हिन्दी–नेपाली मिसिएको भाषामा। टिकटकमा ट्रेन्ड भएका आक्रोशपूर्ण पंक्ति कुन शैलीमा थिए? हिन्दी र्‍यापको लयमा।
हाम्रो असन्तोषलाई नै छिमेकी मिडियाले आफ्नै ऐनामा घुमाइघुमाइ देखायो, व्याख्या गर्‍यो, ब्रान्डिङ गर्‍यो। नेपाली आक्रोशलाई भारतीय फ्रेममा ढालेर बेच्ने प्रयास भयो। अनि पनि हामी प्रश्न गर्छौं—पश्चिमले के गर्‍यो?

हाम्रो चेतना जगाउने काम वास्तवमा हाम्रै वरिपरिको वातावरणले गर्‍यो। साझा भाषाले सूचनाको प्रवाहलाई चाँडो बनायो। दिल्ली, मुम्बईमा उठेका बहसहरू काठमाडौंमा छलफल बन्न समय लागेन। जेएनयूका नारा, किसान आन्दोलन, सामाजिक ट्रेन्ड—हिन्दी हावा चल्दा हाम्रो आँगनका दियालोहरू आफैं काँपिहाले।
स्मार्टफोन पश्चिमबाट आयो होला, तर त्यस भित्र चल्ने सामग्री प्रायः छिमेकीकै थियो। नेपाली युट्युब खोल्दा ट्रेन्डिङ सूची हेर्नुस्—हामी कुन संसारमा बाँचिरहेका छौं भन्ने आफैं प्रस्ट हुन्छ।

सबैभन्दा खतरनाक पक्ष यही हो—सांस्कृतिक निकटता। पश्चिमी प्रभावलाई हामी अझै ‘विदेशी’ भनेर चिन्न सक्छौं। शङ्का गर्छौं। तर भारततिरबाट आउने प्रभाव हामी आफ्नै ठान्छौं। यहीँबाट मानसिक आत्मसमर्पण सुरु हुन्छ।
विचारको युद्धभूमिमा जब शत्रु र मित्र एउटै वर्दीमा आउँछन्, तब चेतना हार्छ। भ्यालेन्टाइन डे आयो कि मौलिकता मासिने डर गर्नेहरू भारतीय धारावाहिकको अविश्वसनीय दृश्यलाई भने ‘मनोरञ्जन’ भनेर सहजै पचाउँछन्। प्रश्न गम्भीर छ—कुन प्रभाव बढी घातक छ?

मिडियाको वर्चस्वले हाम्रो दृष्टिकोण नै कब्जा गरिसकेको छ। आज नेपालमा कुनै घटना भयो भने, त्यसको पहिलो व्याख्या कतै बाहिरबाट आउँछ। हामी आफ्नै आँखाले होइन, अरूको क्यामेराबाट देश हेर्न बानी परिसकेको छ। यही नै वृत्तान्तमाथिको सूक्ष्म कब्जा हो।

अब मूल प्रश्न—के नेपाली युवा आफैं सोच्न सक्दैनन्? सक्छन्। तर समस्या त्यही हो। सक्षम भएर पनि हामी आफ्नो कथा अरूलाई लेख्न दिइरहेका छौं। आफ्नै आन्दोलनलाई आयातित लेबल टाँस्न दिइरहेका छौं।
अब आत्मविश्लेषणको समय आएको छ।

अन्त्यमा नेपाली युवा पुस्तासमक्ष आग्रह—मानसिक उपनिवेशवादको साङ्लो चुँडालौं। विदेशी होस् या छिमेकी, कसैको प्रभावलाई आँखामा पट्टी बाँधेर पछ्याउने बानी त्यागौं।
शरीर मात्र होइन, मनमस्तिष्कले पनि स्वतन्त्रताको श्वास फेर्ने नेपाल बनाउने हो भने—अब आफ्नै कथा आफैं लेख्नुपर्छ। अरूको लेखोटका पात्र बनेर होइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय