काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाले नेपाली राजनीतिमा ठूलो उलटफेर ल्याएको छ। मूलधारका भनिएका पुराना दलहरू कमजोर देखिँदा नयाँ शक्तिका रूपमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देशव्यापी जनलहर देखिएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन प्रतिनिधिसभा विघटन गरेपछि भएको निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको हो। बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ मात्र १२५ सिट जितेको छ। समानुपातिक मतसमेत जोड्दा रास्वपाको पक्षमा झन्डै दुईतिहाइ जनमत देखिएको निर्वाचन आयोगको प्रारम्भिक आँकडाले संकेत गरेको छ।

यस चुनावमा पुराना दलका अधिकांश शीर्ष नेताहरू पराजित भएका छन्। नेपाली कांग्रेस का सभापति गगन थापा, महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे, वरिष्ठ नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायत नेताहरू पराजित भएका छन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल लगायत नेताहरू पनि पराजित भएका छन्।

वाम गठबन्धनतर्फ पुष्पकमल दाहाल विजयी भए पनि सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, भीम रावल लगायत नेताहरू पराजित भएका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता रवीन्द्र मिश्र र कमल थापा पनि चुनावमा हार व्यहोर्न पुगे।

यसपटक २०४८ सालदेखि संसदीय उपस्थिति कायम राख्दै आएको नेपाल मजदुर किसान पार्टी समेत संसदबाट बाहिरिएको छ। त्यस्तै मधेस आन्दोलनपछि उदाएका दलका शीर्ष नेताहरू—उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, प्रभु साह—पनि पराजित भएका छन्।

यस नतिजालाई विश्लेषकहरूले नेपाली राजनीतिमा मतदाताको ठूलो असन्तोष र नयाँ विकल्पप्रतिको आकर्षणका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय