तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुल शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। यहाँका विभिन्न गुरुकुलमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेको देखिएको छ।

देवघाट गाउँपालिका–५ स्थित श्रीहरिहर सन्यास आश्रमद्वारा सञ्चालित परमानन्द संस्कृत गुरुकुल विद्यापीठमा ३० जनाका लागि भर्ना खुलाउँदा १८९ जनाले प्रवेश परीक्षाका लागि फारम भरेका थिए। प्रवेश परीक्षामार्फत ३० जना विद्यार्थी छनोट गरिएको सहायक प्राचार्य कृष्णदेव पाण्डेले जानकारी दिए।

उनका अनुसार पछिल्ला वर्षहरूमा संस्कृत तथा गुरुकुल शिक्षाप्रति आकर्षण बढ्दै गएको छ। देवघाटका गुरुकुल देशभरमै ख्यातिप्राप्त भएकाले अन्य स्थानभन्दा यहाँ अध्ययन गर्न आउने विद्यार्थी बढी रहेको उनले बताए।

विगतमा संस्कृत अध्ययनका लागि भारतको बनारस र वृन्दावन जाने चलन रहे पनि अहिले समय परिवर्तनसँगै भारतबाट समेत विद्यार्थीहरू नेपालका गुरुकुलमा अध्ययनका लागि आउन थालेका छन्।

त्यसैगरी, सोही वडास्थित महेश संस्कृत गुरुकुलले ३२ जना विद्यार्थीका लागि आवेदन खुलाउँदा २५० भन्दा बढी परीक्षार्थी सहभागी भएका छन्। प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलका अनुसार केही वर्षयता गुरुकुलमै बसेर संस्कृत अध्ययन गर्न चाहनेहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ।

गुरुकुलमा खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले अभिभावकहरूको रोजाइमा परेको बताइन्छ। साथै संस्कृत भाषा, हिन्दू धर्म तथा परम्परागत संस्कारप्रतिको बढ्दो रुचिले पनि विद्यार्थीलाई आकर्षित गरेको छ।

देवघाटमा सञ्चालित गुरुकुलहरू मुख्यतः दाताको सहयोगमा सञ्चालन हुँदै आएका छन्। सनातन धर्म, संस्कार, आर्य संस्कृति तथा संस्कृत शिक्षाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ गुरुकुल सञ्चालनमा छन्।

हाल देवघाटमा करिब ७०० बटुक अध्ययनरत छन्। यहाँ महेश संस्कृत गुरुकुल, वेद वेदाङ्ग संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल तथा बालिकाका लागि माँ कल्याणी वैदिक कन्या गुरुकुल सञ्चालनमा रहेका छन्।

यी गुरुकुलहरूले राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै आएका छन् भने शास्त्री तथा आचार्य तहका लागि नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट सम्बन्धन लिएर अध्यापन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय