
दीर्घराज प्रसाई
म कांगेस नभएता पनि राजनीतिक विश्लेषणको आधारमा मूल्यांकन गर्नुपर्दा नेपालको राष्ट्रिय राजनीतिलाई कसरी ध्वस्त बनाइयो भन्ने कुरा २०३३ साल पौष १६ गते भारतको निर्वासनबाट बीपी कोइराला स्वदेश फर्केपछिको कुरालाई लिएर यहाँ आफ्रना विचार प्रसतुत गर्दैछु-
नेपाली कांग्रेसको इतिहासमा बीपी काइरालाको सुदढ प्रजातान्त्रिक वैचारिक धार थियो । आफ्ना वैचारिक धारको बिरुद्ध कसैसँग संझौता गर्दैन थिए । राजा महेन्द्रबाट २०१७ सालमा संसद विगटन गरेर उनलाई जेलमा राख्दा र कैयौंबर्ष भारतमा निर्वासीत जीवन बिताउँदा पनि उनी नेपालमा संवैधानिक राजसंस्थाको पक्षधर थिए । भारतले सिक्किम खाएपछि त बीपीले नेपालको सन्दर्भमा रासंस्था रहेन भने नेपालै रहदैन भन्ने र ल ेख्ने गरेको कुरा हामी सबैलाई थाहा छ ।
बीपीकै धारमा गणेशमान सिंह लगायत धेरै नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरु कतिवद्ध थिए । तर बीपीका भाई गिरिजाप्रसाद कोइरालाले नैं बीपीका राजनीतिक वैचारिक धारलाई धोका दिए । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाका अक्षमता र धोकापूर्ण भ्रष्ट क्रियाकलापले नेपाली कांग्रेसको वैचारिक धार के हो भन्ने कुरा स्पष्ट छैन ।
बीपीका छोरा सशाँकको कुरा गर्ने हो भने उनले पनि कांग्रेसको वैचारिक धारलाई बुझन् सकेका छैनन् । संवैधानिक राजसंस्था, संसदीय प्रजातन्त्र र हिन्दु अधिराज्य अखण्ड नेपालको एकता र सार्वभौमसत्ताको आधार हो । विशाल नेपाल पूर्वमा टिष्टा र पश्चिममा कांगडासम्म नेपालको एकीकरण भएको समयदेखि पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाह, अमरसिंह थापा लगायत कैयौं योद्धाहरुबाट हिवतखण्डका लगभग ५४ हिन्दु राज्यहरुलाई एकीकृत गराएर त्योबेलादेखि स्थापित संसारभरकै एकमात्र हिन्दु अधिराज्य हो नेपाल ।
यस्ता महान ऐतिहासिक तथ्यहरुलाई नेपाली कांग्रेसले आत्मसाथ गरेर राष्ट्र निर्माणमा अगाडि बढेको भए नेपालको अस्तित्व बचाएर नेपाली कांग्रेसले सँधै शासनसत्तामा रहिरहन सक्थ्यो । तर गिरिजाप्रसाद र शेरबहादुर देउवाले देशभित्र ब्रम्हलुट मच्चाएर विदेशीहरुको निर्देशनमा नेपालको अधोगति गराए । बीपी कोइरालाका प्रजातान्त्रिक मान्यताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरुले आत्मसाथ गरेका थिए । तर पछिका दिनमा गिरिजाले बीपीका वैचारिक धार पोलेर खाएकाले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरुले नेपाली कांग्रेसबाट नैं पछि हट्नु परेको थियो । यी सबै कुरालेै गणेशमान सिंहले गिरिजालाई कुलंगार बनेका थिए ।
यसरी यी दुई नेताहरुले काग्रेसबाट किन हट्न प¥यो भन्ने कुरा कांग्रेसका शेरबहादुर देउवा, गणेशमानका छोरा प्रकाशमान सिंह रामचन्द्र पौडयाल लगायत अहिलेका नेपाली कांग्रेसका कार्यकर्ताहरुले वास्ता नगरेका कारणले नेपाली कांग्रेसको अवस्था आर्यघाटमा पुगेको जस्तो छ । नेपाली कांग्रेस भनेको बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका वैचारिक धार हो । उनीहरुका धारणाहरुलाई कांग्रेसले बुझ पचाएर बस्नु हुन्न ।
म यहाँ २०३३ सालपछि बीपी निर्वासीत जीवनपछि नेपाल फर्केकोबेलाको घटना मसँग संवन्धीत भएकाले यहाँ त्योबेलाको घटना प्रस्तुत गर्दैछु- बीपी कोइरालासँग २०३३ सालपछि मैले पनि सम्पर्क बढाएको थिए । भारतको निर्वासनबाट राष्ट्रिय सहमतिको भावना लिएर २०३३ साल पौष १६ गते बीपी कोइराला, गणेशमान सिंह, केवी, गुरुड, शैलजा आचार्य, रामबाबु प्रसाईहरु नेपाल आएका थिए । त्यो दिन त्रिभुवन हवाई मैदानमा गाउँफर्कको आयोजनामा बीपी कोइरालालगायत सबै कांग्रेसी नेताहरु विरुद्ध कालो झण्डा देखाएर हवाइजहाजबाट उत्रिन नैं नदिने हंगामा मच्चाइएको थियो । मलाई त्यो कार्यक्रम पटक्कै मन परेको थिएन । म त्यस कार्यक्रममा सहभागी भइनँ ।
मैले भ्याएसम्म राजदरबारका सचिवहरुलाई राजनीतिक नेताहरु आफ्नो देश फर्किन खोजिरहेको अवस्थामा यसरी नचाहिंदो काम गर्नु राम्रो कुरा होइन भनेर जानकारी दिएको थिए । पछि राजा वीरेन्द्रको निर्देशनमा त्यो दिन एरपोर्टमा तत्कालीन आईजीपी खड्गजीत बरालले पञ्चायत विरोधी राजनीतिक नेताहरुको सुरक्षार्थ प्रहरीको मोटर पठाएर त्यही मोटरबाट बीपी कोइरालाहरुलाई महाराजगञ्ज प्रहरी गेष्ट हाउसमा ससम्मान राखियो । त्यसपछि त्यहीबाट राजासँग राजदरबारमा भेटघाट गराई बीपी कोइरालालाई अमेरिकामा उपचारको लागि आर्थिक सहायताकासाथ पठाउने काम गरिएको थियो ।
राजा वीरेन्द्रले निर्दलीय पञ्चायत व्यवस्था विरोधी नेताहरुप्रति नकारात्मक नभएको कुरा यसबाट स्पष्ट हुन्छ । बीपी कोइराला अमेरिकाबाट फर्केपछि बेलायती राजदूतावासको राष्ट्रिय कार्यक्रममा मन्त्रीपरिषद, सांसदहरु, विशिष्ट कर्मचारी तथा बीपीसमेत आमन्त्रित भएको स्वागत समारोहको सभाकक्षमा बीपी केहीपर एक्लै बसिरहेको बेला म जुरुक्क उठेर नमस्ते गरेर भेट्न पुगें । उहाँ जुरुक्क उठेर सभाकक्षको बीचमा हामी दुबै उभियौं । आधा घण्टासम्म हामी दुबै मन खोलेर बार्तालाप ग¥र्यौ । त्यसबेला म सांसद थिएँ । त्यसभन्दा अगाडि विवाह कार्यक्रमहरुमा मेरो अरु भेट भइसकेको थियो ।
कुराकानीको सन्दर्भमा बीपीले सीके प्रसाईको धेरै तारिफ गर्नुभयो । मलाई भन्नु भयो, ‘’म कहाँ भेटौन ।’ मैले भने म तपार्इँकोमा भेट्न आएभने तपाईँका सारा कार्यकर्ता आक्राशित होलान् ।’ मलाई बीपीको सबैभन्दा प्रभाव परेको पक्ष हो, उहाँ कुनै कुरा पनि लुकाएर बोल्नु नहुँदो रहेछ । म कांग्रेसको समर्थक नभए पनि सीके प्रसाई र मेरो धेरै राम्रो सम्बन्ध भएकाले हुनसक्छ बीपी म सँग खुलेर कुरा गर्नु हुन्थ्यो ।
२०३३ सालभन्दा अगाडि मैले पञ्चायती व्यवस्थाका समर्थन र राजा महेन्द्रका सिद्धान्तका थुपै्र पुस्तकहरु प्रकाशित गरेको र मेरै अध्यक्षतामा पञ्चायतलाई पञ्चायत विश्लेषण केन्द्रबाट वैचारिक हिसावले राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रबीच पञ्चायती व्यवस्थाको समन्वयात्मक बाटो तयार गर्ने राजनीतिक खेलमा हामी थियौं तर बीपी कोइरालाको समर्थक थिएनौं ।
२०३३ सालपछि उहाँमा राष्ट्रियता र राजतन्त्रप्रतिका धारणाबाट हामी प्रभावित भएर उहाँप्रति आकर्षित थियौं । एकपटक बीपी कोइरालाले राष्ट्रपुकार साप्तिाहिक पत्रिकामा ‘सबै पञ्च भ्रष्ट हुन्’ भनेको वक्तव्य छापियो । मैले त्यही दिन राष्ट्र पुकारका सम्पादक होमनाथ दाहाललाई दिल्लीबजार बाटोमा भेटेर भनेको थिएँ कि बीपी कोइरालालाई हामीले राम्रो मानेको थियौं तर उहाँले सबै पञ्च भ्रष्ट भन्नु भएकाले उहाँकै भनाईमा म पनि भ्रष्ट ठहरिएँ । अब म पनि उहाँका कुर्तुतह्रु सबै खोज्छु र खोल्छु भने । दाहालजीले बीपीलाई यो कुरा सुनाउनु भएछ । पछि लगत्तै मातृभूमि साप्ताहिकमा बीपीको अर्को वक्तव्य आयो, ‘सबै पञ्च भ्रष्ट होइनन्, सबै पञ्चसँग नझस्क ।’ त्यसपछि मैले बीपीलाई होमनाथजी मार्फत नैं चित्त बुझेको खबर पठाएँ ।
बीपी पछाडि सुवर्ण शम्सेरजीलाई पनि मैले सम्मान गर्ने गर्थे । तर पछि उहाँको बारेमा नराम्रो कुरा सुनियो । सुवर्ण शम्सेरले भारतमा अंग्रेजबाट धेरै सस्ता जग्गा किनेको रहेछ । तर कर नतिरी बसेको अवस्थामा भारतीय प्रधानमंत्री नेहरुले सबै कर मिनाहा गराई दिने सर्तमा २०१८ सालमा भारतको अल इण्डिया सरकारी रेडियोबाट नेहरुको निर्देशनमा नेपाल बिरुद्ध सशस्त्र क्रान्तिको घोषणा गर्नुभएको कुरा सुनेपछि म उहाँको त्यस्तो अराष्ट्रिय नियत चित्त बुझेन । त्योबेला बीपी कोइराला सुन्दरीजल जेलमा रहेको अवस्था थियो । त्यसबेला दिल्लीमा अल इन्डिया रेडियो नेपाली कार्यक्रमका प्रमुखको रुपमा नेपाल सरकारबाट प्रकाश उपाध्याय नियुक्त हुनु भएको रहेछ । उहाँ अहिले काठमाडौंमै हुनुहुन्छ । त्यसबेला उहाँले भारतीय समाचारहरुमा प्रकाशित खबर पढेको अझै भन्नु हुन्छ । बीपी कोइराला जेलमा रहेका बेला सुवर्ण शम्सेर नेपाली कांग्रेसको कार्यवाहक सभापति हुनु भएकाले यो सन्दर्भ उठाउनु परेको हो ।
बीपी कोइरालापछि कृष्णप्रसाद भट्टराई नेपाली कांगे्रसको सभापति बन्नुभयो । उहाँको कार्यकालमा प्रजातन्त्रका मूल्य र मान्यता बिपरित कसैसँग संझौता गर्नु भएन । २०४६ सालको जनआन्दोलनपछि राजा वीरेन्द्रले आन्दोलनका नेता गणेशमान सिंहलाई प्रधानमंत्री बनाउन चाहेको तर गणेशमान सिंहबाट कृष्णप्रसाद भट्टराईलाई प्रधानमंत्रीको लागि राजा वीरेन्द्रका सामू सिफारिस गर्नुभयो र २०४७ सालमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमंत्री बनेका थिए । उहाँले बीपी कोइराला र गणेशमान सिंहको वैचारिक धारसँग कटिवद्ध रहेर संसदीय प्रजातन्त्र, संवैधानिक राजतन्त्रलाई समन्वय र संतुलन गर्ने प्रकारको २०४७ सालको संविधानमा व्यवस्था गर्न सफल हुनुभयो ।
कृष्णप्रसाद भट्टराईलाई धेरैले गलत सल्लाह दिएर प्रयोग गर्न नखोजेका होइनन् । तर उनी इमान्दार नेता हुन् । २०६३ सालपछि कांग्रेस, एमाले, माओवादीहरु एक भएर राजतन्त्र तथा संसदीय प्रजातन्त्रको तेजोवध गर्न लागेको बुझेर कृष्णप्रसाद भट्टराईले नेपाल जोगाउनको लागि राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई सँगसँगै सन्तुलन गरेर चलाउनु पर्छ भन्ने अडान लिएर बरु पार्टी नैं त्यागेर एक सचेत प्रजातन्त्रवादी देशभक्त नेताको रुपमा देखिनु भयो ।
गिरिजाप्रसाद कोइराला २०४८ सालको आम निर्वाचनपछि प्रधानमंत्री बने । उनी प्रधानमंत्री भएपछि प्रारम्भमा बीपी कोइरालाको सिद्धान्तबाट प्रभावित भएको जस्ता देखाएता पनि पछि, गिरिजाप्रसादले आफ्नो छुट्टै गिरोह बनाएर नेपालको प्रसासकीय व्यस्थालाई ध्वस्त गराए । देशभित्र भ्रष्टाचार, घोटालाले चरम सीमा नाघ्यो । कृष्णप्रसाद भट्टराई पछि गिरिजा नेपाली कांग्रेसको सभापति भएपछि नेपाली कांग्रेसलाई आफ्नो पेवा बनाए । विक्रम संवत् २०४८ साल जेष्ठमा प्रधानमंत्री बनेपछि गिरिजाप्रसादले भारतको भ्रमणपछि चीनको भ्रमण गरे । चीनको भ्रमणको बेला नेपाल–चीन संवन्धमा चिसोपन देखियो ।
गिरिजाप्रसाद कोइराला प्रधानमंत्री बनेका बेलामा देश चौतर्फी भ्रष्टाचार बढ्यो । सत्तासीन भएपछि छोरी सुजाताको नाममा अर्बौं सम्पत्ति जोडे । गिरिजा भारतको आडमा नायक बने । भन्सारमा ब्रम्हलुट मच्चाउन त्यस्तै कर्मचारी नियुक्त गरियो । प्रशासन सुधारको नाममा इमान्दार सक्षम कर्मचारीहरुलाई हटाएर पाँडे पजनी गरियो । चीनिया सहयोगबाट निर्माण गरिएका सबै नाफामा रहेका उद्योगहरु निजीकरणको नाममा अर्बाै कमिसन खाएर बद्नाम ब्यापारीहरुलाई उधारोमा बिक्री गराएर ब्रम्हलुट मच्चाउने काम गरे ।
नाफामा रहेको शाही नेपाल वायुसेवा निगमलाई गिरिजाले धमिजा, बोइङ्ग काण्डको सुत्रपात गरेर देशको टाट पल्टाउने काम गरे । गिरिजा भारतपरस्तको रुपमा चिनिए । उनका राम्रा सल्लाहकार भएनन् वा विदेशीले जे जे भन्छ त्यही गरे । नेपाली जनताको हितमा उनले एउटा पनि राम्रो कार्यक्रम लागु गर्न चाहेनन् । कम्युनिष्ट सिध्याउन उनले अनेकौं आतंक मच्चाउने काम गरे नेपालमा अहिलेको अशान्ति, हत्या, लुट, बलात्कार, असुरक्षाको थालनी २०४९ सालदेखि प्रारम्भ भएको हो । माओवादी बिद्रोहका स्रस्टा गिरिजा नैं हुन् । २०४९ सालदेखि मसाल– कम्युनिष्टलाई समाप्त पार्ने नाममा हत्या, दमन, बलात्कार यति बढ्यो कि त्यसको सीमा नैं रहेन ।
त्यसको वदलामा माओवादीबाट दसौं हजार नरनारी, प्रहरी, सैनिकहरुको प्रयोजनहीन हत्या, अङ्गभङ्ग र अर्बौ भौतिक पुर्वाधारहरु नष्ट गरिए, जलाइए । पछि तिनै माओवादीहरु गिरिजासँग मिलेर भारतीय गुप्तचर संस्था रअ को निर्देशनमा नेपालको अद्योगति गराउने संयन्त्रमा लागेको कुरा दिल्लीमा भएको १२ बुँदे सहमतिबाट छर्लङ्ग भयो । कृष्णप्रसाद भट्टराई पछि गिरिजाप्रसाद कोइराला कांग्रेसको महाधिवेसनबाट नेपाली कांग्रेसको सभापति बने । कांग्रेस र देशको सम्पूर्ण बागडोर हातमा लिएपछि गिरिजाले नेपाली कांग्रेसलाई उनले आफूखुसी संचालन गरे । गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईहरुको तेजोबध गरे । गणेशमान सिंह वाक्क भएर गिरिजालाई कुलंगार भन्थे ।
गिरिजाकै निरंकुश र भ्रष्ट व्यवहारले नेपाली कांग्रेसका प्रभावशाली यस्ता नेताहरु कांग्रेसबाट बाहिरिए । गिरिजाप्रसाद कांग्रेसको सभापति भएपछि उनको व्यवहारबाट नेपाली कांग्रेस वदनाम भयो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका योगदानहरु बालुवामा पानी पोखेसरह बनाउन खोजे । २०५२ सालमा विघठित संसद सर्वोच्च अलालतबाट बहाली भएपछि शेरबहादुर देउवा देशको प्रधानमंत्री बने । गिरिजाप्रसादका अनेकौं व्यवधानका कारणले वाक्क भएर नेपाली कांग्रेस संसदमा बहुमतमा हुँदाहुँदै शेरबहादुरले प्रनिनिधिसभा विघटन गरेर राजालाई शासनभार बुझाए । राजाले शासनभार ग्रहणगरेपछि राजाबाट गिरिजाप्रसादले प्रधानमंत्री नपाएपछि आक्रोशित भएर भारतीय गुप्तचर संस्था ‘रअ’ को पासोमा परेर भारतमा आफैले आतंककारी भनिएका माओवादीसँग हात मिलाएर जनआन्दोलनमा नेता बने ।
२०६३ सालमा राजासँग संझौता भएपछि आन्दोलको नेताको हैसियतमा २०४७ सालको संविधान अनुसार प्रधानमंत्री नियुक्त भएर राजदरबारमा राजाबाट सपथग्रहण लिए । गिरिजाले सफथग्रहण गरेको एक महिना नपुग्दैमा त्यसलाई धोका दिएर २०४७ को संविधान कुल्चेर क्रमिक रुपमा माओवादीसँग मिलेर धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता लागु गर्नमा प्रयत्नशील भए । नेपालको संकटको कारक गिरिजा नैं हुन् ।
अव यसरी देश चल्दैन । नेपालको राष्ट्रियतालाई एकताको सुत्रमा वाध्न सक्ने संयन्त्र– राजसंस्था, हिन्दु अधिराज्य र राष्ट्रभाषा नेपाली नैं हो । नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन गरेर राजाको अपस्थितिमा संसारको एकमात्र हिन्दु अधिराज्यलाई यथावतरुपमा कायम राखेर सम्पूर्ण देशभक्त शक्ति सक्रिय बनेर देशभित्रका ब्याप्त भ्रष्टाचार निर्मल गर्ने र विदेशी हस्तक्षेपको बिरुद्ध सशक्त बन्दै पिछडिएको क्षेत्र र जातिको विकासको लागि राज्यको सम्पूर्ण शक्ति केन्द्रीत गराएर सम्मानपूर्वक श्री ५ ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबारमा राज्यरोहण गराएरदेश बचाउन सक्नुपर्छ ।
