
शाहवंशी राजामध्ये सबैभन्दा बढी चर्चा पृथ्वीनारायण शाह र महेन्द्र शाहको हुन्छ । पृथ्वीनारायणलाई मुलुक एकीकरणका कारण सम्झिने गरिन्छ । प्रजातान्त्रिक अभ्यास मासेर पञ्चायती पद्धतिको अभ्यास गराएको हुनाले महेन्द्रको चर्चा भइरहन्छ । उनलाई सम्झिने अर्को कारण विश्व मानचित्रमा नेपालको स्थान सुरक्षित राखेकाले पनि हो ।
राजा त्रिभुवनका उत्तराधिकारी महेन्द्रले क्रान्तिनायक बीपी कोइरालाको समाजवादी पृष्ठभूमिलगायत कारणले राजसंस्था खतरामा परेको महसुस गरे । राज्यारोहण गरेको छोटो अवधिमै उनले पिताजस्तो निम्छरो नभएर सशक्त एवं दृढ राजाका रूपमा आफूलाई उभ्याए । राजा महेन्द्रको सामीप्यमा रहेका योगी नरहरिनाथ, तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, ऋषिकेश शाह, यदुनाथ खनाललगायतले ‘साँच्चिकै राजा त उनी नै थिए’ भन्ने गर्थे । राजामा ‘देश मेरै इसारामा चल्नुपर्छ’ भन्ने दम्भ थियो । उनी आफ्ना निर्णयहरूमा अडिग रहन्थे । अँध्यारो कोठामा पनि कालो चस्मा पहिरिने उनको व्यक्तित्व आत्मविश्वासले भरिपूर्ण थियो । राजा महेन्द्रका सूचना स्रोत धेरै थिए । महत्त्वपूर्ण निर्णय गर्नुपूर्व ज्योतिषी र आफ्ना विश्वासपात्रसँग अलग–अलग भेटेर परामर्श गर्थे । सहयोगीहरूसँगको एकल अथवा समूहगत परामर्शमा रानीलाई साथमा राख्दैनथे । राजा महेन्द्रलाई विश्व राजनीति तथा इतिहासप्रति गहिरो रुचि थियो ।

प्रजातन्त्र स्थापनापछि राज्य व्यवस्थापनको प्रत्येक अंग (दरबारका निर्णय, मन्त्रिमण्डल गठन तथा बैठक सञ्चालन, सल्लाहकार सभा गठन, सेनाको तालिम, प्रशासनिक सुधार, ग्रामीण विकास आदि) मा भारतीयहरूको उपस्थिति हुने गर्थ्यो । भारतीय पक्षको यस्तो सूक्ष्म व्यवस्थापनको विरोध गर्नेलाई त्यस कालखण्डमा ‘राष्ट्रवादी’ भनिन्थ्यो । महेन्द्रले राज्यारोहणपछि भारतीय पक्षलाई नचिढ्याइ आफ्नो देशलाई उसको छत्रछायाबाट मुक्ति दिलाए ।
महेन्द्रकै पालामा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पायो । चीन, सोभियत संघलगायत पूर्वेली युरोपेली मुलुकहरू, बर्मा, इन्डोनेसिया, पाकिस्तान, इजरायलसँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो । शीतयुद्ध चर्किएको कालखण्डमा नेपाल असंलग्न आन्दोलनको सक्रिय सदस्य भयो । नेपाल राष्ट्र बैंक स्थापना, देशभरि नेपाली मुद्राको प्रचलन, योजनाबद्ध विकास प्रक्रियाको थालनी, पूर्व–पश्चिम राजमार्गको अवधारणा, जलविद्युत् तथा सिँचाइ आयोजनाको विस्तार, भूमिसुधार, आधुनिक कृषि पद्धतिको सुरुवात, प्रशासन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार तथा विस्तार, देशभरि शिक्षाको माध्यम नेपाली भाषा निर्धारण, नयाँ मुलकी ऐन निर्माण, राष्ट्रिय चिह्न तथा राष्ट्रिय विभूति घोषणा जस्ता काम राजा महेन्द्रले गराएका हुन् ।
राजाले लागू गरेको पञ्चायत व्यवस्थाको अभ्यास, अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापना गरेको राष्ट्रिय पहिचान र भारतीय छत्रछायाबाट दूरी राख्दै चीनसँग मित्रता तथा आन्तरिक रूपमा राष्ट्रिय एकता कायम गर्न गरेका प्रयासलाई धेरैले ‘महेन्द्रपथ’ भन्ने गर्छन् ।