
कास्की । कास्कीमा रहेका तालहरूमा आजदेखि जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंक्षी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरूबाट शुरु गरिएको हो । । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलिसम्म जारी रहनेछ ।
प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्ता देखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण सङ्घ संस्थाको सहभागिता हुने गर्दछ ।

सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिन्छ ।
यस वर्ष पनि पुस १७ देखि माघ ५ सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना गरिने पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरेले जानकारी दिनुभयो ।
दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा शुरु गरिएको पानी चरा गणना पोखरामा रहेका केही पथ प्रर्दशकहरु, नेपाल पंक्षी संरक्षण सङ्घ पोखरा र पछिल्लो समयमा पोखरा पंक्षी समाजको संलग्नतामा गर्दै आएको छ ।
हाल सम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि वर्षै भरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको समाजका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।