काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।

नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका हुन्।

टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढङ्गले सहज रुपमा उपलब्ध गराउन पनि उनले निर्देशन दिए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, ‘जस्तोसुकै प्राकृतिक विपत्तिको समयमा पनि यो कम्पनीले दुर्गम क्षेत्रमा समेत सुलभ सेवा दिएको छ, यसलाई अझै ग्राहकमुखी बनाउँदै लक्ष्य प्राप्त गर्नुपर्नेछ।’

उनले सरकारले अघि सारेका नीतिनियम र कानूनको अवलम्बन गर्दै नेपाल टेलिकमले देशको आर्थिक, सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। मन्त्री कार्कीले टेलिकमलाई अझै अग्रणी र जिम्मेवार बनाउन अप्टिकल फाइवरको जतिसक्दो चाँडो विस्तार गर्नुपर्ने बताउँदै मुलुकका सबै स्थानीय तहमा जतिसक्दो चाँडो तीव्रगतिको इन्टरनेट सेवा पुर्‍याउन पनि निर्देशन दिए।

उनले टेलिकमले आफ्ना सेवाहरुलाई समयसापेक्ष परिवर्तन गरी लैजानुपर्ने बताउँदै कम्पनीको समग्र विकास र विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मन्त्रालयका सचिव तथा टेलिकमका बोर्ड अध्यक्ष डा बैकुण्ठ अर्यालले ग्राहक मात्रै बढाउनेभन्दा पनि गुणस्तरीय सेवा विस्तारमा जोड दिन टेलिकमका कर्मचारीलाई निर्देशन दिए।

उनले भने, ‘अहिले मोबाइलको नेटवर्कको समस्या छ, सेवा विस्तार गुणस्तर कस्तो छ, त्यो महत्वपूर्ण हुन्छ, ग्राहक बढाएसँगै गुणस्तर पनि बढाउनुपर्छ।’ १८ वर्षअघि स्थापना भएको सो कम्पनीको ग्राहक २०७८ साल मङ्सिर मसान्तसम्ममा दुई करोड २७ लाख नाघेको छ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको कूल आय ४२ अर्ब २१ करोड पुगेको छ। कम्पनीको खुद मुनाफा सात अर्ब १३ करोड भएको बताइएको छ। चालु आवको पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड राजस्व प्राप्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय