काठमाडौं । नेष्डो समृद्धि लघुवित्तको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मंगलबार बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँड भएको जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड भएको छ । जसअनुसार लघुवित्तकोआईपीओमा आवेदन गरेका मध्ये ७७ हजार ४५६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । सोहीमध्ये तीनजनाले थप एक एक कित्ता गरी ११ कित्ता सेयर पाएका छन् । बाँकी आवेदकले भने सेयर प्राप्त गर्न सकेनन् ।

यही फागुन ११ गतेदेखि लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँअंकित दरमा कुल आठ लाख २८ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीहरूका लागि १२ हजार ७५० कित्ता छुट्ट्याइएको थियो । कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी सर्वसाधारणका लागि सात लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन माग गरेको थियो । जसमा २५ लाख २७ हजार १०१ वटा आवेदन परेकामा चार हजार १४६ आवेदन भने रद्द भएका बिक्री प्रबन्धकले जनाएको छ ।

रद्द आवेदन हटाएर सदर भएका २५ लाख २२ हजार ९५५ जनालाई गोलाप्रथामा समावेश गरी सेयर ७७ हजार ४५६ जनालाई १० कित्ता र थप तीनजनालाई ११ कित्ता सेयर बाँडफाँड भएको छ । बाँकी रहेका २४ लाख ४५ हजार ४९९ जनाको हात खाली भएको छ ।

राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको यस संस्थाको केन्द्रीय कार्यालय पवर्तको कुश्मा नगरपालिकामा छ । लघुवित्तले हाल ५६ शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणानुसार १६ करोड ३३ लाख ८ हजार खुद मुनाफा आर्जन गरेको छ । आव २०७७/०७८ को अपरिस्कृत वित्तीय विवरणानुसार कम्पनीको सञ्चित मुनाफा २५ करोड ३० लाख ३१ हजार, प्रतिसेयर आम्दानी ९४ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ ३५२ रुपैयाँ २३ पैसा छ ।

आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणपछिको वित्तीय विवरणमा कम्पनीको सञ्चित मुनाफा १२ करोड ८१ लाख ९९ हजार, प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नटवर्थ २६० रुपैयाँ ८५ पैसा छ । कम्पनीको आईपीओ नतिजा, सीडीएर एन्ड क्लियरिङ लिमिटेडको मेरोसेयर र आईपीओ नतिजा हेर्न बनाइएको वेबसाइटका साथै बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय