
मदन नेपाल
इमान खै ?
यतै रुमल्लिएर बस्थ्यो
त्यो इमान खै ?
सुखी थियो
हाँसी हाँसी बस्थ्यो तर छैन
कहाँ गयो कता गयो ?
इमान खै ?

घरमा बस्थ्यो
पाटी चौतारामा बस्थ्यो
आज घर, घर रहेन,
पाटी चौतारा छैन
त्यसैले बिचरा इमान पनि छैन ।
कसैले सुनाए कसैले थिचे कसैले लुछे
असैह्य भयो र हिंड्यो इमान,
आफ्ना कोहि भएनन्
एक छाक कसैले दिएन
एकसरो लाज छोप्ने लुगा छैन
न सन्तान, सन्तान भए
न छिमेकी, छिमेकी रहे
सबै पैसाको पछि दौडिए
सबै सोखका पछि लागे
दु:ख कस्लाई मन पर्थ्यो र ?
छिमेकीका सुखले तान्यो
देश विदेशका झलमलले तान्यो
इमानका आफ्ना सस्तैमा बिके
इमान एक्लो पर्यो
उस्का कुरा कस्ले सुन्ने ?
कोहि रछान नै राहत भनेर दिन्छन्
दुइ चार हजार यस्सो फालेर
तिमी मेरो भयौ भन्छन्
कोहि भविष्यको उज्यालो कथा सुनाउँछन्
कस्को पत्याउने कस्को नपत्याउने !
पेटले दानापानी माग्दा
उपाय केहि नहुँदा
झुक्न नसक्ने इमान
झुक्न वाध्य हुन्छ
मेहनती थियो इमान जमान थियो
फसाएरै छाडे वाध्यतामा पारे
इमान धान्न नसके पछि मुख छोपेर
हिंडन वाध्य भयो, विदेशीयो !
विदेशको ठाउँमा ढोका कुर्छ
गोठाला जान्छ सरसफाई गर्छ
इमान न हो ! इमान्दार छ
देखे पिच्छे मालिकलाई दर्शन गर्छ
चरो मुसो छिर्न दिंदैन
हस् सर ! भन्ने थेगो घोकेर
बिहान बेलुकी पेट भर्छ
इमानको हाल यस्तै छ ।
स्वदेश, स्वदेश लाग्दैन
गर्व साथ छाती फुलाउने केहि छैन
झुकेको छाती गह्रौं पारेर गुलामी गर्दै
स्वाभिमानी इमान खस्केको छ ।
इमानका आफ्ना गुरु थिए
गुरुका आफ्ना शिक्षा थिए
शिक्षामा इमान नै सिकाए
त्यहि इमानलाई आज भुलेर
इमान नै बन्धक राखेर
बेईमानीको श्रीपेच लगाए
श्रीपेच लगाएर पाठ पढाए
इमान ठूलो, इमान भगवान
इमान देश, इमान संस्कार
इमान नियम, इमान नै कानून,
तर इमान आफै आफ्नो परिचय
अनि नाम संग तर्सन्छ
न नाम मन पर्छ न देश
न आफ्ना न नेता कार्यकर्ता
त्यसैले उ विदेशमै गयो उतै बस्यो
इमानको खोजी गर्ने कोहि भएन,
आज इमानको केहि खबर छैन
जिउँदो छ या मर्यो ?
कोहि जिउँदै छ भन्छन्
कोहि उहिले नै मर्यो भन्छन्
कस्तो हाल छ होला इमानको ?
कतै बाट खबर छैन
कहाँ छ इमान
इमान खै ?
इमान खै ?