
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले पुनः सरकारमा आउने दाबी गर्नुभएको छ । एमालेको बहुमतको सुदृढ सरकार बनाउन आगामी चुनावमा स्थानीय तहदेखि संघीय र प्रदेश तहको निर्वाचन एमालेले जित्नैपर्ने भएकाले सो अनुरुपको तयारीमा लाग्न पार्टी पंक्तिमा अध्यक्ष ओलीले निर्देशन दिनुभएको हो ।
ललितपुरको गोदावरीस्थित आयोजित सो पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि आएका सुझावहरुको जवाफ दिनुहुँदै उहाँले पार्टी सुदृढ बनाएर मात्र नेतृत्व छोड्ने बताउनुभयो । उहाँले सन् २०३० सम्ममा देशलाई अल्प विकसितबाट विकासशील देशमा पु¥याउने उद्देश्य पूरा गर्न सरकारमा पुनः एमालेको नेतृत्व आवश्यक रहेको प्रष्ट्याउनुभयो ।

वर्तमान सरकारले मन्त्रिपरिषद् विस्तारलगायत सरकारको गतिविधि अगाडि बढाउन नसकेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो । अहिलेको सरकारले देश विकास र जनजीविकाका सम्बन्धमा केही पनि काम गर्न नसकेको आरोप उहाँले लगाउनुभयो ।