
काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमवार तामाङलाई पक्राउ गरेको हो । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा बचतकर्ताका रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो ।

तामाङ सहित एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले सिभिल सहकारीका बचतकर्ताको ४६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाइएको छ ।
प्रहरीका अनुसार ७० जना निक्षेपकर्ताले आफूहरूलाई तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका छन् । निवेदन आउने क्रम जारी रहेकाले उजुरी दिनेको संख्या अझै बढ्ने प्रहरीको अनुमान छ ।
२०६० को दशकमा उनी रियलस्टेट व्यवसायमा सबैभन्दा सफल व्यवसायीको रुपमा परिचित थिए ।दुई वर्षअघिदेखि सहकारीका निक्षेपकर्ताको पैसा भुक्तानी गर्न नसकेपछि उनी र उनका कम्पनीहरु आर्थिक संकटमा परेको खवरहरु सार्वजनिक भएका थिए ।