काठमाडौं । दसैँ, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।
सर्वसाधारणलाई भने २९ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिनुभयो । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एक/एक वटा बन्डल हो ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ । चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैँ, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने गरेको छ ।

