काठमाडौं । प्रधानन्यायाधीशको कोटाबाट गैरसांसदलाई मन्त्री बनाइएको भन्दै सर्वत्र विवाद भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबारै बिहान स्वीकृत गर्नुभएको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्हरूले प्रश्न उठाएपछि पदबाट राजीनामा दिएको हमालले बताउनुभएको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यू, म लामो समयदेखि कांग्रेसका विभिन्न पदहरूमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु,’ हमालले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ, ‘हाल विभिन्न सञ्चारमाध्यमहरूमा सम्प्रेषित समाचार तथा कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’

हमाल मन्त्री भएपछि सर्वत्र आलोचना भएको थियो । सत्तारूढ नेपाली कांग्रेससहित सत्तागठबन्धनभित्र पनि यसबारेमा आलोचना भइरहेको थियो । हमाल मन्त्री नियुक्ति भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पनि विवादमा तानिनुभएको थियो । हमाल प्रधानन्यायाधीश चोलेन्द्रका जेठान पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय