काठमाडौँ । २३ र २४ भदौको जेनजी आन्दोलनपछि सरकार मात्रै ढलेन, दशकौँदेखि रजगज गर्दै आएको दलतन्त्र पनि ढलेको छ । बहुदलीय व्यवस्थामा दलहरूले सरकार गठन गर्नु स्वाभाविक हो । तर, नेताहरू सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित भएर आमजनताको माग र मुद्दाबाट विमुख हुँदै जाँदा नागरिकमा दलहरूप्रति वितृष्णा बढ्दै गयो । खासगरी सरकारको नेतृत्वमा दशकौँदेखि सीमित व्यक्तिहरूको हालिमुहाली र रोटेसन हुँदा जनताको आक्रोश चरम चुलीमा पुग्यो । यो कुरा सार्वजनिक मञ्चहरूमार्फत् अभिव्यक्त भइरहेको पनि थियो । तर, जनआक्रोशलाई बेवास्ता गर्दै अघि बढ्दा केवल सरकार मात्रै ढलेन, दशकौँदेखिको दलीय रजगज पनि ढलेको छ ।
सम्पूर्ण राजनीतिक दलहरूलाई बाहिर राखेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिक नागरिक सरकार बनेको छ । कार्की नेतृत्वमा पहिलो चरणमा नियुक्त भएका ३ जना मन्त्री पनि गैरराजनीतिक व्यक्ति छन् । राजनीतिक दलहरूलाई कोमामा पुर्याउने यो अवस्थाको सिर्जना गर्न प्रमुख दलका शीर्ष नेताहरूको भूमिका त छ नै, ती नेताहरूलाई टेको दिने दोस्रो र तेस्रो पुस्ताका नेताहरू पनि उत्तिकै जिम्मेवार छन् । जनताले २४ भदौको आन्दोलनमा शीर्ष नेताहरूमाथि मात्रै प्रहार गरेका छैनन्, उनीहरूको सहयोगीका रूपमा देखिएका दोस्रो÷तेस्रो पुस्ताका नेताहरूमाथि पनि प्रहार गरेका छन् । यसको अर्थ वर्तमान राजनीतिक अवस्था र कुशासनको भागिदार शीर्ष नेतामात्रै होइनन् भन्ने जनताको बुझाइ छ । आफ्नो सत्ता साम्राज्य टिकाइराख्न शीर्ष नेताहरूले दोस्रो पुस्ताका नेताहरूलाई कारिन्दाको भूमिकामा खटाउने र दोस्रो पुस्ताले इमानदार आदेशपालकको भूमिका निर्वाह गर्दा राजनीतिक विकृति विसंगति नसङ्लिएको टिकाटिप्पणी हुन थालेको छ ।

शीर्ष नेताको जयजयकार गर्दै जस्तोसुकै निर्णयमा पनि समर्थन गर्ने, विरोध गर्नेहरूमाथि जाइलाग्ने, आमनागरिकमा देखिएको आक्रोश र अवस्थाबारे शीर्ष नेतृत्वलाई जानकारी नै नदिने र ‘निर्णय एकदम ठिक’ भनेर नेतृत्वलाई गुमराहमा राख्ने दोस्रो, तेस्रो वा युवा पुस्ता भनिने नेताहरूका कारण पछिल्लो विष्फोट भएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । कुनै नेता÷कार्यकर्ताले वास्तविक कुरा बोलेर निर्णयको विरोध गरेमा पार्टी विरोधीको ट्याग लगाउने र संख्याकै बलमा उसको स्वर दबाउने काम हरेक पार्टीमा हुँदै आएको छ । सबैभन्दा पुरानो नेपाली कांग्रेस होस् वा सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी नेकपा एमाले वा १० बर्से युद्धबाट उदाएको माओवादी केन्द्र नै किन नहोस्, सबैको नेतृत्वमा एउटै अहम् देखियो– म नै दल हो, मेरो निर्णय नै सर्वमान्य हो । र, त्यो अहम् निर्माण गर्नमा मुख्य भूमिका नेतृत्वको वरिपरि घुमेर वास्तविक अवस्था थाहा पाउनै नदिने र उसकै जयजयकार गर्दै विभिन्न लाभ लिने दोस्रो÷तेस्रो पुस्ताका नेताहरूकै रहेको विश्लेषकहरूको बुझाइ छ ।

