काठमाडौं । नेपालमा पठन–संस्कृतिको अवस्था चिन्ताजनक बन्दै गएको, युवापुस्ताको समय बढ्दो रूपमा डिजिटल माध्यममा केन्द्रित हुँदै गएको र पुस्तक पढ्ने अभ्यास क्रमशः ओझेल पर्दै गएको समयमा पत्रकार नारायण तिवारीले अनौठो तर प्रेरणादायी कदम चालेका छन्। करिब तीन दशक पत्रकारितामा बिताएका तिवारीले आफ्नै व्यक्तिगत पहलमा काठमाडौंको अनामनगरस्थित हनुमानस्थान नजिकै ‘खुला पुस्ताकलय’ स्थापना गर्दै पुस्तकमैत्री समाज निर्माणतर्फ एउटा महत्त्वपूर्ण संकेत गरेका छन्।
व्यक्तिगत संग्रहबाट ‘सार्वजनिक अध्ययन केन्द्र’

दैनिक जीवनको व्यस्तता, पुस्तकमा घट्दो चासो र भेटघाट तथा मनोरञ्जनका लागि खुलेआम प्रयोग भइरहेका पार्क–उद्यानहरूको चरित्रलाई बदल्नु आवश्यक ठान्दै तिवारीले यो पुस्ताकलय स्थापना गरेका हुन्।
उनले आफ्नै निजी कलेक्सनमा रहेका पुस्तकहरू तथा राख्ने र्याकसहित करिब १५० पुस्तक लिएर अभियान सुरु गरिएको जानकारी दिए। प्रारम्भिक चरणमै उनको व्यक्तिगत लगानी र श्रमले तयार भएको यो ‘खुला पुस्ताकलय’ अहिले पार्क छेउमै सानो तर आकर्षक अध्ययन केन्द्रको रूपमा देखिन थालिएको छ।
“मैले पढिसकेपछि अरूले पनि पढून् भन्ने सोचेर यो सुरु गरेको हुँ,” तिवारीले उद्घाटन कार्यक्रममा भने। “पार्कमा बस्नेहरूलाई फुर्सदका क्षण उपयोगी बनाउन र पठन–संस्कृति विस्तार गर्न यो स्थापना गरिएको हो।”
उनको भनाइले निजी स्तरबाट पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया थियो।
युवा पत्रकारहरूको सहभागिता र उद्घाटन
आइतबार केही युवा पत्रकारहरूको संयुक्त उपस्थितिमा उक्त पुस्ताकलयको औपचारिक उद्घाटन गरिएको थियो। सामुदायिक पहलमार्फत स्थापना भएको यो पुस्ताकलयले व्यक्तिगत योगदान र सामूहिक जिम्मेवारीबीचको सम्बन्धलाई उजागर गरेको सहभागीहरूले बताए। उद्घाटनमा उपस्थित युवा पत्रकारहरूले तिवारीको पहलले पुस्तक–मित्र वातावरण निर्माणमा ठूलो प्रेरणा दिने विश्वास व्यक्त गरे।
उद्घाटनकै दिन धेरैजसो युवाहरू पुस्तक हेर्न र केही पानाहरू पल्टाउन रोकिएको दृश्यले यो अभियानले तत्काल प्रभाव देखाउन थालेको सङ्केत दिएको थियो। पार्कमा सामान्यतया मोबाइल चलाउने, संगत बस्ने वा समय बिताउने उद्देश्यले आउने धेरैलाई पुस्तकसँग पुनःजोड्ने अवसर सिर्जना भएको तिवारीको विश्वास छ।
पठन–संस्कृति विस्तारका लागि ‘सरल तर प्रभावकारी’ प्रयास
पुस्तकालय सरकारी सहयोग वा संस्थागत सहयोगबिना व्यक्तिगत पहलमा बनाइएको उदाहरणका रूपमा प्रस्तुत भएको छ। महँगा पूर्वाधार, ठूलो भवन वा ठूलो लगानीका बिना पनि समुदायमा पठन अभिरुचि बढाउन सकिन्छ भन्ने कुराको संकेत तिवारीले दिएका छन्। खुला वातावरणमा, हिँडडुल गर्नेहरूको पहुँचमा र कुनै दर्ता, शुल्क वा औपचारिकता विना पुस्तक पढ्न पाउने सुविधा अहिलेका शहरी पुस्ताका लागि निकै आकर्षक देखिएको छ।
पुस्तकालयको स्थान पनि प्रतीकात्मक छ—अनामनगरको पार्क क्षेत्र, जहाँ बिहान–साँझ विभिन्न उमेरका नागरिक नियमित रूपमा आउँछन्। फुर्सदको समय रमाइलो मात्र नभई शैक्षिक र बौद्धिक अभिरुचि बढाउने अवसर बन्न सक्छ भन्ने सोचले धेरैलाई पुस्तकालय नजिक पुर्याएको तिवारी बताउँछन्।
दाताहरूलाई खुला निमन्त्रणा
तिवारीले आफ्नो प्रारम्भिक १५० पुस्तकपछि अब अरू पुस्तकप्रेमीहरूलाई पनि दान गर्न खुला आग्रह गरेका छन्। उनले पुस्तकालयलाई क्रमशः विस्तार गर्दै विविध विषयका किताब राख्ने योजना बनाइरहेका छन्।
पठन–संस्कृति विस्तारका लागि सामुदायिक भागीदारी अत्यावश्यक हुने विश्वास उनकाे छ। “यो मेरो एकल अभियान होइन, समाजकै सामूहिक पहल बनेको खण्डमा मात्रै यसको प्रभाव बढ्छ,” उनले भने।
हालसम्म स्थानीय बासिन्दा, पत्रकार तथा केही पुस्तकप्रेमीहरूले थप पुस्तक सहयोग गर्ने इच्छा व्यक्त गरिसकेका छन्। पुस्तक दानका लागि कुनै कडा मापदण्ड तोकिएको छैन, तर पुस्तकहरू राम्रो अवस्थाका हुनुपर्ने र सामुदायिक प्रयोगका लागि उपयुक्त विषयवस्तु समावेश हुनुपर्ने तिवारीले बताएका छन्।
डिजिटल युगमा भौतिक पुस्तकको आकर्षण
समयले डिजिटल पुस्तालगायत अन्य स्रोत विस्तार गरे पनि भौतिक पुस्तकको अनुभव, सुगन्ध र पढ्ने बानीले दिने मानसिक एकाग्रता आज पनि महत्त्वपूर्ण छ।
शहर केन्द्रमा पुस्तक पढ्ने सुविधा खुला ठाउँमै उपलब्ध गराइएको यो पुस्ताकलय युवापुस्तालाई पुस्तकमा फर्काउन सहयोगी बन्न सक्छ।
अझ महत्वपूर्ण कुरा—पुस्तक पढ्नलाई ढोका ढकढक्याउँनु पर्दैन, सदस्य बन्नु पर्दैन, शुल्क तिर्नु पर्दैन। यो सहजता नै यसको मुख्य शक्ति बनेको छ।

