काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणामले **नेपाली कांग्रेस**लाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। विशेष महाधिवेशनपछि नयाँ नेतृत्वसहित “बदल्यौं कांग्रेस, बदल्छौं देश” नारा दिएर चुनावमा होमिएको कांग्रेस प्रत्यक्षतर्फ मात्र १७ सिटमा सीमित भएको छ। पार्टी सभापति गगन थापा सहित अधिकांश शीर्ष नेताहरू पराजित भएका छन्।

मधेसबाट पार्टीलाई पुनर्जीवित गर्ने लक्ष्यसहित सर्लाही–४ बाट चुनाव लडेका थापा **राष्ट्रिय स्वतन्त्र पार्टी**का उम्मेदवार **अमरेशकुमार सिंह**सँग पराजित भए। प्राप्त मत परिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८३१ मत पाएका छन्। यससँगै थापाको संसदीय यात्रा तत्कालका लागि रोकिएको छ।

कांग्रेसका महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीहरू उदयशमशेर राणा, फरमुल्लाह मन्सुर, प्रकाश रसाइली स्नेही लगायत नेता पनि पराजित भएका छन्।

यसैबीच, पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा समेत कांग्रेसको ३५ वर्ष लामो विरासत समाप्त भएको छ। देउवालाई टिकट नदिइएको उक्त क्षेत्रमा युवा नेता नैनसिंह महरले पार्टीको गढ जोगाउन सकेनन्।

निर्वाचन अवधिभर देउवा उपचारका लागि सिंगापुर गएका र सक्रिय रूपमा चुनावी अभियानमा नदेखिएकाले पार्टीभित्र ‘मौन विद्रोह’को चर्चा पनि चलेको छ।

कांग्रेस उपसभापति **विश्वप्रकाश शर्माले भने मतदाताको निर्णय स्वीकार्य भएको बताएका छन्। उनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपालाई स्वागत गर्दै कांग्रेसले परिणामको समीक्षा गर्ने बताएका छन्।

झन्डै सात दशक लामो राजनीतिक विरासत बोकेको कांग्रेसको यस्तो कमजोर नतिजापछि पार्टीभित्र आत्मसमीक्षा र नेतृत्वको भूमिकाबारे व्यापक बहस सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय