काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ। मादक पदार्थ (मापसे), लागूपदार्थ सेवन (लापसे) र ट्राफिक नियम उल्लंघन दुर्घटनाका मुख्य कारण देखिएपछि विशेष अभियान सञ्चालन गरिएको हो।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी स्वयं टोलीसहित सडकमा खटिएका छन् भने कन्ट्रोल रुमबाट निगरानी बढाइएको छ। बिहान सार्वजनिक सवारी र दिउँसो–साँझ दुईपाङ्ग्रे सवारीमा केन्द्रित चेकजाँच भइरहेको छ। मुख्य चोक तथा दुर्घटना सम्भावित क्षेत्रमा चालकहरूको मापसे/लापसे परीक्षण तीव्र बनाइएको छ।

ट्राफिक प्रहरीले मापसे वा लापसे गरी सवारी चलाउने, ट्राफिक लाइट उल्लंघन गर्ने तथा जोखिमपूर्ण रूपमा सवारी चलाउने चालकको लाइसेन्स खारेजसम्म सिफारिस गर्ने चेतावनी दिएको छ।
यसैबीच, आज बिहानको सप्राइज चेकिङमा मापसे गरी सवारी चलाउने १२ चालक कारबाहीमा परेका छन्। कारबाहीमा भाडा बस, स्कुल बस, माइक्रो, टेम्पो, पर्यटक भ्यान र निजी कारका चालकसमेत रहेका छन्। प्रहरीले यस्ता अभियान निरन्तर जारी रहने जनाएको छ।

