उत्तमराज घिमिरे
गुरु पूर्णिमा केवल गुरुको पूजा गर्ने दिन मात्र होइन, जीवनमा हामीलाई सही बाटो देखाउने व्यक्तिहरूलाई सम्झने र सम्मान गर्ने अवसर पनि हो। हाम्रो समाजमा गुरु भन्नासाथ विद्यालय र कलेजमा पढाउने शिक्षक तथा धार्मिक कर्मकाण्ड गराउने पुरोहितको सम्झना आउँछ। तर, गुरुको वास्तविक अर्थलाई गहिरिएर बुझ्ने हो भने सच्चा गुरुको परिभाषा अझ फराकिलो र आत्मीय हुन्छ।

हामीले जीवनमा धेरै शिक्षक भेट्छौँ। कसैले अक्षर चिनाउँछन्, कसैले ज्ञान दिन्छन्, कसैले धर्म र संस्कार सिकाउँछन्। तर जीवनको पहिलो पाठशाला घर हो र पहिलो गुरु आमा हुन्।
जसले हामीलाई जन्म दिइन्, संसार चिनाइन्, हिँड्न सिकाइन्, ‘आमा’ र ‘बाबु’ भन्न सिकाइन्। हामी बिरामी हुँदा रातभर जाग्राम बसिन्। आफूले नखाई सन्तानलाई खुवाइन्। हाम्रो दिसा र बान्तासमेत घिन नमानी सफा गरिन्। हाम्रो अनुहार हेरेर भोक, पीडा र दुःख बुझिन्। हामीलाई पढ्न मात्र होइन, जीवनका कठिन परिस्थितिसँग संघर्ष गर्न पनि सिकाइन्।
आमाले कहिल्यै हाम्रो सफलताको मूल्य अंक र प्रमाणपत्रमा खोजिनन्। हामी पास भयौँ कि फेल भयौँभन्दा पनि हामी खुसी छौँ कि छैनौँ, स्वस्थ छौँ कि छैनौँ भन्ने कुरा उहाँका लागि ठूलो थियो। यही निस्वार्थ माया र समर्पणले आमालाई सच्चा गुरु बनाउँछ।
गुरु त्यो होइन, जसले केवल ज्ञान दिन्छ। गुरु त्यो हो, जसले आफूलाई बिर्सेर अरूको जीवन उज्यालो बनाउँछ। जसले केही माग्दैन, सकेसम्म दिइरहन्छ। जसले सही र गलत छुट्याउन सिकाउँछ र आवश्यक पर्दा गाली गरेर पनि सही बाटोमा हिँडाउँछ।
दधीचि ऋषिले आफ्नो हड्डीसम्म दान गरेजस्तै सच्चा गुरु त्याग र समर्पणको प्रतीक हो। त्यसैले गुरु पूर्णिमामा हामीले केवल शिक्षक वा धार्मिक गुरुको पूजा गरेर आफ्नो दायित्व पूरा भएको नठानौँ। हाम्रो जीवन निर्माणमा योगदान दिने आमाबाबु, शिक्षक, जीवनसाथी र हरेक मार्गदर्शकलाई सम्झौँ।
गुरु खोज्न टाढा जानुपर्दैन। कहिलेकाहीँ हाम्रो सबैभन्दा नजिक बसेको मानिस नै हाम्रो सबैभन्दा ठूलो गुरु हुन्छ। त्यसैले गुरु पूर्णिमाको अवसरमा ती आमाहरूप्रति विशेष नमन गरौँ, जो कुनै प्रमाणपत्रबिना पनि संसारकै महान् गुरु हुन्।
सच्चा गुरु त्यही हो, जसले आफूलाई बिर्सेर हाम्रो जीवन बनाउन आफ्नो जीवन समर्पण गर्छ।

