काठमाडौं । नेपाल मेडिकल काउन्सिलको इजाजतपत्रबिना गैरकानूनी रूपमा चिकित्सा सेवा प्रदान गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा काठमाडौंको साविक मातातीर्थ गाविस–७ घर भई हाल चन्द्रागिरी नगरपालिका–८ बस्दै आएकी ४७ वर्षीया चेतन ए.एम. (पौडेल) रहेको प्रहरीले जनाएको छ।

नेपाल मेडिकल काउन्सिलले गरेको नियमित अनुगमनका क्रममा चन्द्रागिरी–८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा अनधिकृत रूपमा उपचार सेवा सञ्चालन भइरहेको फेला परेको थियो। छानबिनका क्रममा पौडेलले चिकित्सकको मान्यता प्राप्त उपाधि हासिल नगरेको तथा काउन्सिलमा दर्ता नभई आधुनिक चिकित्सा पद्धतिअनुसार बिरामीको रोग निदान र उपचार गरिरहेको भेटिएको काउन्सिलले जनाएको छ।
अनुगमन टोलीले उनलाई बिरामीका लागि औषधि सिफारिस गरिएको पुर्जीसमेत प्रयोग गरिरहेको अवस्थामा फेला पारेपछि आवश्यक कारबाहीका लागि प्रतिवेदनसहित उजुरी केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाएको थियो।
उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गरेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खटिएको प्रहरी टोलीले उनलाई असार ९ गते चन्द्रागिरीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकी पौडेलविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत इलाजसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

